काठमाडौं, ३१ साउन । नेपालको पूर्बी तराईको खानेपानीमा भारतीयहरुले चासो राखेका छन्भने हिजो मन्त्रालयमा छलफलसमेत भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई–मधेसको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रुपमा समाधानगर्ने विषयमा छलफल भएको बताइएको छ । मधेस प्रदेशमा देखिएको खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षणगरी काठमाडौं फर्किनुभएका भारत सरकारका विज्ञ टोलीसँग हिजो मन्त्रालयमा गहन छलफल भएको हो । उक्त टोलीले तराई–मधेस क्षेत्रमा खानेपानीको वर्तमान अवस्था, विद्यमान समस्य, तत्कालीन र दीर्घकालीन समाधानका लागि भइरहेका कार्यलगायत पक्ष समेटेर तयार पारिएको प्रतिवेदनबारे जानकारी गराउनुभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँले टोली गत २७ गतेदेखि तराई–मधेसका संकटग्रस्त जिल्लाहरुमा पुगेर स्थलगत अनुगमन गरी फर्किएको छ । टोलीले प्रतिवेदन तयार गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिने बताउनु भएको छ । विज्ञ टोलीसँग हिजो पनि मधेस प्रदेशको खानेपानी संकट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएका बताउँदै छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको सुझावका आधारमा सरकारले आवश्यक कार्य अघिबढाउने मन्त्री यादवले जानकारी दिनुभएको छ ।

उहाँले खानेपानीको संकट समाधानका लागि पु¥याइएको सहयोगका लागि भारत सरकारप्रति विशेष आभारसहित विज्ञ टोलीको महत्वपूर्ण प्रयासका लागि हार्दिक धन्यवाद व्यक्त गदछौँ भन्नुभएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणको क्रममा तराई–मधेसमा दीर्घकालीन खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस्भन्ने दृढ अपेक्षा रहेको उहाँले विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री यादवले केही महिनाअघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको स्मरणगर्दै उक्त सहकार्यले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले मधेस प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि एवं देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राईले तराई–मधेसका संकटग्रस्त जिल्लाहरुमा पुगेर आफूहरुले स्थलगतरुपमा अनुगमनगरी समस्या समाधानका लागि आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार गरिरहेको जानकारी दिनुभएको छ ।

हिजोको बैठकमा मन्त्रालयका सचिव एवं इञ्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव एवं इञ्जिनीयर मीना श्रेष्ठ, इञ्जिनीयर कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक उपमहानिर्देशक नारायणप्रसाद आचार्यलगायत सहभागी हुनुहुन्थ्यो । भारतीय टोलीमा देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनउ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डेलगायतको सहभागिता रहेको थियो ।