पेरिस, ४ भदौ । युक्रेन विवादको समाधानका लागि भइरहेका वार्ताका क्रममा रुसले हिजो मंगलबार आफ्नो सुरक्षा र युक्रेनमा रहेका रुसी भाषी समुदायका अधिकारहरु सुनिश्चितगर्ने कुनै पनि शान्ति सम्झौता आवश्यक हुने बताएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरुको गत सोमबार वाशिटनमा भएको बैठकपछि शान्ति वार्ताको सम्भावनाप्रति आशा जागेको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद पनि गर्नुभएका थिए । तर रुसले युक्रेनमा जारी द्वन्द्वको समाधान गर्दा रुसको सुरक्षा चासो सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ । रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले दुई राष्ट्रपतिबीच हुने सम्भावित भेट धेरै नै व्यवस्थित र सावधानीपूर्वक तयार पारिनुपर्ने बताउनुभयो । यदि जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ता हुन्छभने त्यो तीन वर्षअघि शुरुभएको यो जटिल द्वन्द्वको पहिलो महत्वपूर्ण संवाद हुनेछ । युद्धमा हजारौं मानिसहरुको ज्यान गइसकेको छ र अहिलेको अवस्था स्थिरहुँदै जाँदा पनि पूर्ण शान्ति टड्कारो देखिएको छैन । ट्रम्पले वार्ता मार्फत युद्ध समाप्तगर्ने प्रयास गरिरहेका छन् भने युरोपेली नेताहरुले पनि यसमा सक्रियता देखाइरहेका छन् । लाभरोभले रुसी टेलिभिजनलाई दिएका अन्तर्वार्तामा युक्रेनमा बसोबासगर्ने रुसी भाषी समुदायका अधिकारहरुको संरक्षण नभएसम्म कुनै सम्झौता स्वीकार्य नहुने बताउनुभयो ।
यसैबीच फ्रान्स र बेलायतको संयुक्त पहलमा कीएभका करीव ३० साझेदार राष्ट्रहरुको भर्चुअल बैठक आयोजना गरिएको थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोँले यसलाई विस्तृत जानकारी आदानप्रदानका लागि आयोजना गरिएको बताउनुभयो र जेनेभामा वार्ता हुनसक्ने सम्भावनाको संकेत गर्नुभयो । माक्रोँले युक्रेनको डोनबास क्षेत्रमा केही भूभागबारे दबाबको विषयमा युरोपेली चासो व्यक्त गर्नुभयो । कीएभमा सामान्य जनताले वार्ताप्रति मिश्रित भावना राखेका छन् । ३२ वर्षका एक गोदाम कर्मचारी अन्तोनले भन्नुभयो–मूल समस्या पुटिन नै हुन् । उहाँ वार्ता चाहँदैनन् र ट्रम्पलाई पनि अवस्था कसरी सम्हाल्ने थाहा छैन ।”तर मस्कोमा केही नागरिकले शान्तिपूर्ण समाधानका लागि आशा व्यक्त गरेका छन् । २३ वर्षीय व्याचेस्लाभले हामी पारस्परिक लाभका आधारमा सहमत हुन सक्ने आशा राख्छौं भन्नुभयो । उहाँले यो वार्ता युद्धको शुरुदेखिनै भएको भए राम्रो हुने थियो भन्नुभयो ।
ट्रम्पले अलास्कामा पुटिनसँग भएको भेटपछि गत सोमबार सामाजिक सञ्जालमार्फत पनि पुटिनलाई जेलेन्स्कीसँग वार्ताको तयारी गर्न फोन गरेको जानकारी दिनुभएको छ । उहाँले दुई राष्ट्रपतिबीच त्रिपक्षीय शिखर बैठकगर्ने योजना रहेको उल्लेख गर्नुभयो । जर्मन चान्सलर फ्रेडरिक मर्जले पुटिनले आगामी दुई हप्ताभित्र जेलेन्स्की सँग द्विपक्षीय वार्तागर्न सहमति जनाएका जानकारी दिनुभयो । जेलेन्स्कीले आफू प्रत्यक्ष भेटका लागि तयार रहेको बताउँदै वाशिंटनको वार्ता युद्ध अन्त्यतर्फ एक महत्वपूर्ण कदम भएको बताउनुभयो । अमेरिका र युरोपेली राष्ट्रहरुबीच युक्रेनलाई १०० अर्ब अमेरिकी डलरको हतियार सहायता उपलब्ध गराउने योजना छ भने जेलेन्स्कीले आगामी १० दिनभित्र सुरक्षा ग्यारेन्टीका औपचारिक सम्झौताहरु हुने बताउनुभयो । अन्त्यमा, युरोपेली नेताहरुले ट्रम्पको पुटिनप्रतिको सम्भावित रुचि र व्यवहारप्रति चासो व्यक्त गरेका छन्, जसले वार्ताको सफलतालाई अझै चुनौतीपूर्ण बनाइरहेको छ । रासस÷एएफपी