काठमाडौं, ४ भदौ । नेपाली बिद्यार्थीलाई विदेश जानबाट रोक्नुपर्ने माग भएको छ । युवा बिद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यहरुले जोड दिनुभएको छ । राष्ट्रियसभाको हिजोको बैठकको विशेष समयमा सदस्य सदस्य भुवनबहादुर सुनारले उच्च शिक्षा अध्ययनगर्ने सबै बिद्यार्थी विदेश गएका कारण क्याम्पसमा झार उम्रन थालेकाले नेपालमै बसेर पढ्ने वातावरण बनाउन माग गर्नुभएको हो । देशमै केही हुन्छभन्ने भावनाको विकासगरी विदेश जाने बिद्यार्थीलाई रोक्नुपर्ने उहाँहरुको भनाइ थियो । सदस्य नारायणदत्त भट्टले गौरीफन्टा नाका यथाशीघ्र सञ्चालन र झुलाघाटको पुल निर्माणका लागि प्रधानमन्त्रीको भारत भ्रमणका बेला प्रक्रिया अघिबढाउन माग गर्नुभएको थियो । ठूलो दल भएर पनि नेपाली कांग्रेसले त्याग गरेको उल्लेखगर्दै यसबाट पाठ सिक्न सबै दललार्ई आह्वान गर्नुभएको थियो ।
सदस्य गंगाकुमारी बेल्वासेले चाडपर्वको मौसम शुरुभएकाले पूर्वपश्चिम, उत्तर दक्षिणका सडक मार्ग मर्मतगर्न माग गर्नुभएको थियो । सडकमा बनेका खाल्डाखुल्डी पुरेर चाडबाडको आवागमन सहज बनाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । तातोपानी, रसुवागढी नाका बन्द भएको नाममा बजारमा विकृति देखिएकाले अनुगमन गरी बजारलाई सहज बनाउनुपर्ने पनि सांसद बेल्वासेको भनाइ थियो । सदस्य इन्दिरा गौतमले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो ।