
काठमाडौं,५ भदौ । नेपालको पहाडी क्षेत्रमा पनि डेंगु जोखिम बढ्न थालेको छ । प्राप्त समाचारअनुसार बैतडी जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालकाअनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना संक्रमित भेटिएपछि लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताउनुभएको छ ।
अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो । यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालनगर्दै आएको छ । तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण बिद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिनुभएको छ ।