जेनेभा, ६ भदौ । गाजामा इजरायलले गाजा शहरमाथि विजय हाशिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरीगरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले जनाएको छ । इजरायली सेनाको योजनामा सेनाको लागि लगभग ६० हजार ‘रिजर्भिष्ट’हरुको लागि आवेदन माग गरिएको छ । यस अभियानले अवरुद्ध तटीय क्षेत्रमा पहिलेदेखि नै रहेको विनाशकारी मानवीय सङ्कटलाई अझ खराब बनाउने डरलाई गम्भीर बनाएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का प्रमुख प्रवक्ता क्रिश्चियन कार्डनले एएफपीलाई बताउनुभए अनुसार गाजामा शत्रुता तीव्र हुनुको अर्थ थप हत्या, अधिक विस्थापन, अधिक विनाश र थप आतंक हो । कार्डनले गाजा एक बन्द ठाउँ हो, जहाँबाट कोही पनि उम्कन सक्दैन र यहाँ स्वास्थ्य सेवा, खाना र सुरक्षित पानीको पहुँच घट्दै गएको छ भन्नुभयो । प्रवक्ताले मानवीय सहायताकर्मीहरुको सुरक्षा दिन प्रतिदिन बिग्रँदै गइरहेको छ। यो असहनीय छ भन्नुभयो ।
आइसिआरसीले गाजाको जमीनमा सक्रिय भूमिका खेलिरहेको छ र प्यालेस्टिनी लडाकू समूहको सन् २०२३ अक्टोबर ७ को आक्रमणमा हमासले लिएका इजरायली बन्धकहरुको हरेक आदानप्रदानमा संलग्न रहेको छ । सरकारी निकायबाट प्राप्त तथ्यांकका आधारमा एएफपीले सङ्कलन गरेको तथ्यांकअनुसार गाजामा युद्ध भड्काउने उक्त आक्रमणमा परी एकहजार २१९ जनाको मृत्यु भएको थियो । हमासले अपहरण गरेका २५१ बन्धकमध्ये ४९ जना अझै पनि गाजामा बन्धक बनाइएका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले विश्वास गरेको छ । संयुक्त राष्ट्रसंघले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायलले गरेको जवाफी कारवाहीमा कम्तीमा ६२ हजार १२२ प्यालेष्टिनीको मृत्युभएको छ । गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठीनाइको कारण नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले उपलब्ध गराएको संख्या र विवरणलाई एएफपीले स्वतन्त्र रुपमा पुष्टिगर्न सम्भव हुनसकेन । रासस÷एएफपी