
काठमाडौं, ७ भदौ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्राप्त समाचारअनुसार नेपाल र भारतमा रहेका विभिन्न शैक्षिक संस्था तथा विश्वबिद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टीकरहरुसहित पक्राउ परेका व्यक्तिको बयानबाट खुल्न आएका थप एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपर्नेमा चितवनको कालिका नगरपालिका–५ का हरिप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभउको छ ।
गत एकगते सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट भारतको जिल्ला कानपुर नौबस्ती बस्ने अभिषेक यादवलाई नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टीकरहरुसहित रुपन्देही प्रहरीले पक्राउ गरेको थियो । यादवको बयानबाट खुल्न आएका कलेज कोच नेपाल प्रालिका सञ्चालक रहेका कँडेललाई पक्राउ गरिएको डिएसपी कार्कीले बताउनुभएको छ । डिएसपी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा गत बुधबार लिकीछिपी बसेको अवस्थामा कँडेललाई चितवनबाट पक्राउ गरेको हो ।