काठमाडौं, ८ भदौ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेंगु संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा संक्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना संक्रमित भएको जनाएको छ । त्यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना संक्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना संक्रमित भएका निर्देशनालयले जनाएको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी खासगरी असारदेखि कात्तिकसम्म डेंगु संक्रमण बढ्ने भएकाले विशेष सतर्कता अपाउनुपर्ने बताउनुहुन्छ । डेंगुको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिएर विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । उहाँले गमला, साइकल वा गाडीको टायर, खाली ड्रमजस्ता पानी जम्नसक्ने भाँडा तथा खाल्डामा लामखुट्टेले सजिलैसँग फुल पारेर आफ्नो वृद्धि विकासगर्ने भएकोले यस्ता सतर्कता अपनाउन आवश्यक छ । यस्ता सम्भावित स्थानको खोजीगरी लार्भा नष्टगर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ भन्नुभयो ।

दुई वर्षअघि डेंगुका कारण सुदूरपश्चिममा तीन जनाको मृत्युभएको थियो । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले रोगको रोकथामका लागि लामखुट्टे मार्न लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलाउनु आवश्यक रहेको बताउनुभएको थियो । उहाँले यसमा हरेक स्थानीय तहको महत्त्वूर्ण भूमिका हुन्छ । आफ्नो क्षेत्रमा रोग संक्रमणको अवस्था हेरेर यस्तो अभियान सञ्चालनगर्न आवश्यक छ । यसवर्ष कतिपय पालिकाले यो अभियान सञ्चालन गरिरहेका छन् भन्नुभएको थियो । सरकारी अस्पतालमा यो रोगका बिरामीको निःशुल्क उपचार हुने गरेको छ । लामखुट्टेको टोकाइबाट बच्नुनै यो रोगको रोकथामको प्रभावकारी उपाय भएपनि नागरिकमा चेतनाको अभाव देखिँदा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । रासस