कायरो, ९ भदौ । इजिप्टले हिजो आइतबार गाजाका लागि नयाँ मानवीय राहत सामग्री बोकेको काफिला पठाएको छ । केही दिनअघि इजरायलले गाजासँगका नाका बन्द गरेपछि राहत पठाउने कार्य रोकिन पुगेको थियो । अहिले ती नाका पुनः खुलाइएसँगै इजिप्टले पुनः राहत पठाएको हो । राहत सामग्री इजिप्टको रेड क्रेसेन्ट संस्था अन्तर्गत सञ्चालित ‘सम्मानको अर्पण ः इजिप्टबाट गाजातर्फ’ नामक अभियान अन्तर्गत पठाइएको हो । उक्त सामग्री राफाह नाकाबाट केरम शालोम नाका हुँदै इजरायली पक्षको निरीक्षणमा लगिएको थियो । निरीक्षणपछि सामग्री गाजातर्फ प्रवेश गराइएको हो । काफिलामा पिठो, दाल, रोटी, इन्धन, औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । यो राहत सामग्री त्यस्तो समयमा पठाइएको हो जब संयुक्त राष्ट्रसंघको समर्थनमा स्थापना गरिएको समन्वित खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) नामक संस्थाले गाजाको केही भागमा आधिकारिक रुपमा दुर्भिक्ष घोषणा गरेको छ ।

सो संस्थाले गाजामा चरम भोकमरी, खाना, औषधि र इन्धनको गम्भीर अभाव रहेको चेतावनी दिएको छ । इजिप्टको परराष्ट्र मन्त्रालयले यसअघि जानकारी दिँदै युद्ध शुरुभएयता गाजामा पठाइएको कुल राहत सामग्रीको ७० प्रतिशतभन्दा बढी इजिप्टले उपलब्ध गराएको बताएको थियो । मन्त्रालयका अनुसार हालसम्म इजिप्टले पाँच लाख पचास हजार टनभन्दा बढी सामग्री पठाइसकेको छ । यद्यपि, अझै पनि पाँच हजारभन्दा बढी राहत बोकेका ट्रकहरु राफाह नाकामा रोकिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले हिजो आइतबार दिएको विवरणअनुसार, दुई बर्षभन्दा बढी समयदेखि जारी इजरायली सैनिक कारबाहीमा हालसम्म ६२ हजार ६८६ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

यसै अवधिमा एक लाख ५७ हजार ९५१ जना घाइते भएका छन् । त्यस्तै कुपोषण र दुर्भिक्षका कारण हालसम्म २८९ जनाको मृत्युभएको जनाइएको छ, जसमा ११५ जना बालबालिका रहेका छन् । युद्ध सन् २०२३ अक्टोबर सातका दिन हमासले इजरायली भूभागमा आक्रमण गरी झण्डै एक हजार २०० जना इजरायली नागरिकको ज्यान लिएको र २५० जनालाई बन्धक बनाएको घटनाबाट शुरुभएको हो । त्यसयता इजरायलले गाजामा निरन्तर आक्रमणगर्दै आएको छ । रासस÷सिन्ह्वा