
तेहरान, ९ भदौ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानलाई वशमा पार्ने अमेरिकी प्रयासको सामनागर्न संयुक्त राष्ट्रिय मोर्चा गठनगर्न आह्वान गर्नुभएको छ । राजधानी तेहरानको एक मस्जिदमा दिइएको र खामेनीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको यो टिप्पणी इरान र उसको कट्टर शत्रु इजरायलबीचको युद्धमा युद्ध रोकिएको दुई महिनापछि आएको हो । युद्धमा इरानसँगै संयुक्त राज्य अमेरिकाले इरानी प्रमुख तीन युरेनियम भण्डारण केन्द्रमा आक्रमण गरेको थियो । तेहरान आफ्नो आणविक कार्यक्रमको बारेमा विश्व शक्तिहरुसँग वार्तामा व्यस्त छ । खामेनीले गत जुनमहिनामा इजरायल र अमेरिकाले गरेका दुर्लभ आक्रमणले प्रमुख आणविक स्थलहरुलाई लक्षित गरेको र यसले इरानी प्रतिशोधलाई उत्प्रेरित गरेको बताउनुभएको थियो । उहाँले यसलाई इस्लामिक गणतन्त्र (इरान)लाई अस्थिर गर्न गरिएको योजनाका रुपमा व्याख्या गर्नुभयो ।
युद्धको शुरुवातमा इजरायलले इरानमाथि आक्रमण गरेको एक दिनपछि अमेरिकी एजेन्टहरु युरोपमा भेला भएका र इरानमा आक्रमणपछि कस्तो सरकारले शासनगर्ने भन्ने विषयमा छलफल गरेको उहाँले बताउनुभयो । खामेनीले अमेरिकाले अन्ततः इरानलाई आज्ञाकारी बनाउन खोजेको दाबी गर्नुभयो । उहाँले गत जुनमा भएको १२ दिने युद्धबाट यो देश बलियो बनेको छ, जुन इजरायल र संयुक्त राज्य अमेरिकासँगको इतिहासकै सबैभन्दा तीव्र प्रत्यक्ष भिडन्त हो भन्नुभयो । खामेनीले इरानी राष्ट्रले सशस्त्र बल, सरकार र प्रणालीको साथमा दृढताका साथ उभिएर आफ्ना शत्रुहरुलाई कडा प्रहार गरेको छ भन्नुभयो । राज्यको प्रशासनमामिलामा अन्तिम निर्णय गर्ने सर्वोच्च नेता खामेनीले विदेशी शक्तिले उक्साइरहेको भन्दै आन्तरिक विभाजनविरुद्ध पनि चेतावनी दिनुभएको थियो । उहाँले शत्रुका लागि अगाडिको बाटो भनेको इरानमा कलह सिर्जनागर्नु हो । इजरायललाई संकेतगर्दै अमेरिका र यहूदी शासनका एजेन्टहरु विभाजनको बीउ छर्न खोजिरहेका छन् भन्नुभयो । खामेनीले भन्नुभयो–धन्य इश्वर, विदेशीको षडयन्त्रबचि देश एकजुट भएको छ ।
उहाँले हामीमा मतभिन्नता छन्, तर जब प्रणालीको रक्षागर्ने, देशको रक्षागर्ने र शत्रुविरुद्ध उभिने कुरा आउँछ, जनता एकजुट हुन्छन् भन्नुभयो । तेहरान र वाशिंटनबीच सन् १९७९ को इस्लामिक क्रान्ति र त्यसपछि अमेरिकी दूतावासमा बन्धक संकट उत्पन्न भएपछि सम्बन्ध विच्छेद भएको थियो । वाशिंटनले इरानको आणविक कार्यक्रमलाई लिएर तेहरानमाथि लगातार प्रतिबन्ध लगाएको छ । संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरुले इरानले आणविक हतियार प्राप्तगर्न खोजेको आरोप लगाउँदै आएका छन्, तर तेहरानले यो दाबीलाई बारम्बार अस्वीकार गर्दै आएको छ । तेहरान र वासिङ्टनबीच इरानको आणविक कार्यक्रमबारे छैटौँ चरणको वार्ता हुन लागेको बेला युद्ध शुरुभएको हो । हप्तौँअघि शुरुभएको वार्ता द्वन्द्वका कारण रद्द भएको थियो । युरोपेली शक्तिहरुले कुनै सम्झौता नभए पुनः प्रतिबन्ध लगाउने धम्की दिएपछि इरानले आणविक वार्ताका लागि भोली मंगलबार बेलायत, फ्रान्स र जर्मनीसँग बैठक गर्ने कार्यक्रम तय भएको छ । रासस÷एएफपी