
काठमाडौं, १० भदौ । नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका कैलालीका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपति, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङ्रुका गुल्मपति र भारत अल्मोडाका डिआइजी सुधाम्सु नौटियाल र पिलिभितका डिआइजी अनिलकुमार शर्मालगायत १० जनाको उपस्थिति रहेको थियो । नेपाल र भारतका सुरक्षा अधिकारीबीच दार्चुलाको खलंगामा हिजो सीमा समन्वयात्मक बैठक सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका डिआइजी स्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिनुभउको छ ।
बैठकमा दुवै पक्षले आआफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरीएको उहाँले बताउनुभएको छ । सीमा क्षेत्रमा हुने बिभिन्न किसिमका अवैध गतिविधि, चोरी तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखन र अन्य आपराधिक गतिविधिहरु दुवै देशका सुरक्षाकर्मी मिलेर नियन्त्रणगर्ने सहमति भएको उहाँले बताउनुभएको छ । बैठकमा सीमा क्षेत्रका सम्भावित आपराधिक गतिविधिहरुको बारेमा बिभिन्न तहमा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिकगरी मर्मत सम्भार, संरक्षण र पुनःस्थापना अघिबढाउन सम्बन्धित कार्यालयमा प्रतिवेदनगर्ने, सीमा क्षेत्रका नागरिकको आवागमनलाई सहज र सौहार्द बनाउन प्रयत्नगर्ने सहमति भएको जनाइएको छ ।