काठमाडौं, १२ भदौ । बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा संक्रमण देखिएपछि सीमा क्षेत्रमा कड्याइँ गरिएको हो । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार भारतसँग जोडिएका दोधारा–चाँदनी, पुनर्वास, बेलौरी, बेलडाँडी र भीमदत्त नगरपालिकाका– ९ र १० मा विशेष सतर्कता अपनाइएको छ । उहाँले पक्षी तथा पक्षीजन्य पदार्थ सीमापार व्यापारगर्न नपाइने व्यवस्था गरिएको छ । यदि अवैधरुपमा ल्याइएमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन–०५५ का अनुसार कानूनी कारवाही हुन्छ भन्नुभयो । बर्डफ्लू नियन्त्रण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले सीमावर्ती नाकाहुँदै पक्षी तथा पक्षीजन्य सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

किसान, व्यापारी, आपूर्तिकर्ता, जनप्रतिनिधि र स्थानीय तहलाई सचेतना कार्यक्रममार्फत जानकारी गराउने तयारी गरिएको छ । भट्टका अनुसार, रोकथामका लागि भेटेरीनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाइन कार्यालय र सुरक्षा निकायका टोलीले आकस्मिक अनुगमनगर्ने व्यवस्था मिलाइएको छ । बर्डफ्लू संक्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् । गम्भीर अवस्थामा निमोनिया, स्वासप्रश्वासको समस्याले बिरामीको मृत्युसमेत हुनसक्छ । रासस