जिनेभा, १३ भदौ । संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरुले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरुलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएका छन् । उहाँहरुले यस्तो कार्यलाई निर्दयी र अमानवीय अपराधभन्दै तुरुन्त अन्त्यगर्न आग्रह गर्नुभयो । सात जना स्वतन्त्र मानव अधिकार विज्ञहरुले संयुक्त वक्तव्य जारीगर्दै भनेका छन–आफ्नो आधारभूत अधिकार – भोजनको खोजीमा निस्केका सर्वसाधारणलाई लक्षितगरी बेपत्ता पारिएको खबर न केवल दुःखद छ, यो त यातनासँग बराबरको अपराध हो । उहाँहरुको भनाइमा भोकाको अवस्थामा रहेका सर्वसाधारणलाई लक्षित गरी जबरजस्ती बेपत्ता पार्ने कार्य तत्काल रोकिनुपर्छ भन्ने रहेको छ । विज्ञहरुकोअनुसार, गाजामा खाद्य वितरणमा संलग्न रहेको गाजा मानवीय प्रतिष्ठान (एक निजी संस्था जुन इजरायल र अमेरिकाको सहयोगमा स्थापना गरिएको हो) का वितरण केन्द्रहरुबाट एक बालकसहित कैयौं व्यक्तिहरु हराएको खबर आएको छ । उक्त विज्ञप्तिमा भनिएको छ–इजरायली सैनिकहरु सहायता लिन आएका व्यक्तिहरुको बेपत्ता पार्ने कार्यमा सिधै संलग्न छन् ।
साथै,“राज्यका सुरक्षा निकायहरुले हिरासतमा लिएका व्यक्तिहरुको अवस्था र स्थानबारे कुनै जानकारी नदिएकोले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन मानिन्छ । विज्ञहरुकाअनुसार बेपत्ता पारिएका व्यक्तिहरुबारे जानकारी नदिनु, हिरासतको अस्वीकृतिगर्नु र कानूनी प्रक्रिया नअपनाउनु जबरजस्ती बेपत्ता पारिएको अपराधमा पर्दछ । संयुक्त राष्ट्रसंघले गत साता गाजाको एक प्रमुख क्षेत्रमा भोकमरी घोषणा गरिसकेको छ । त्यसको दोष उहाँले मानवीय सहायता आपूर्तिमा गरिएको व्यवस्थित अवरोधमा लगाएका थिए । इजरायले मार्चदेखि मे महिनासम्म गाजामा पूर्ण नाकाबन्दी गरेको थियो । त्यसपछिको चरणमा, संयुक्त राष्ट्रसंघका निकायहरुलाई पन्छाउँदै इजरायल र अमेरिकाको सहयोगमा गाजा मानवीय प्रतिष्ठान स्थापना गरिएको थियो, जसले खाद्य वितरणको कार्य सम्हालिरहेको छ । विज्ञहरुका अनुसार हवाई आक्रमण र दैनिक गोलीबारीका कारण ती केन्द्रहरुमा सयौंको ज्यान गइसकेको छ । गाजा मानवीय प्रतिष्ठानले निजी सुरक्षाकर्मीहरु मार्फत सुरक्षाको व्यवस्था गरिरहेको भएतापनि, त्यसले बेपत्ता पारिएका घटनाहरु रोकेका छैन ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले गत साता मात्र जनाए अनुसार, गएको मे महिनाको अन्त्यदेखि हालसम्म एकहजार ८५७ जना फिलिस्तीनी सहायता लिन जाँदा मारिएका छन्, जसमध्ये एक हजार २१ जना गाजा मानवीय प्रतिष्ठानका नजिकै मारिएका हुन् । विज्ञहरुले चेतावनी दिँदै भनेका छन्–अहिले यी वितरण केन्द्रहरुमा सहायता खोज्न जाने व्यक्तिहरु जबरजस्ती बेपत्ता पारिने थप जोखिममा परेका छन् । उहाँहरुले इजरायल सरकारलाई अपिल गरेका छन् । पहिले नै संकटमा परेका जनसंख्याविरुद्ध भइरहेको यस्तो घृणित अपराध तुरुन्त रोक्नुपर्छ । त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिहरुको अवस्थाबारे स्पष्ट जानकारी दिन, निष्पक्ष अनुसन्धानगर्न र दोषीमाथि कानूनी कारवाहीगर्न आग्रह गरिएको छ । रासस÷एएफपी