काठमाडौं, १३ भदौ । बाढी बस्तीमा पसेपछि भक्तपुरका १४० घरपरिवार जोखिममा परेका छन् । प्राप्त समाचारअनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बेंशीमा मनोहरा खोलाले कटानगरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका हुन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभएको छ । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्तीनै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उहाँले बताउनुभएको छ । चाँगुनारायण–१ बेंसी र कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका समन्वयमा अस्थायीरुपमा खोला फर्काएर बस्ती जोगाउने प्रयास गरिएको हो । उक्त समस्या स्थायी रुपमा समाधानगर्न तीनवटै नगरपालिकाबीच समन्वय गरिने उहाँले बताउनुभएको छ । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले मनोहरा करिडोर निर्माणगरी स्थायी समस्या समाधानगर्न बजेट व्यवस्थापनको पहल भइरहेको जानकारी दिनुभएको छ । बाढीले चाँगुनारायण–१ दुवाकोटतर्फको जमिन कटान गरेको छ ।
मनोहरा खोलामा बन्दै रेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ । बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन् । यसैबीच भक्तपुरकै सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सीमानामा रहेको शाखापुरी बल्बी खोलामा आएको बाढीले बगाउँदा बालिकाको मृत्युभएको छ । भैँसी चराउन गएकाबेला खोलाको बाढीले बगाउँदा नैचालकी नौ वर्षीया रसमु तामाङको मृत्यु भएको हो । तामाङको शव पनौतीस्थित रोशी भूमिडाँडामा फेलापरेको सूयविनायक नगरपालिकाका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभएको छ । भैँसी चराउन उनी दिदी संगीताका साथमा गएकी थिइन् । रसमुलाई खोला तर्ने क्रममा बाढीले बगाएको वडाध्यक्ष बस्नेतको भनाई छ । सूर्यविनायकस्थित रणशेर ब्यारेकको नेपाली सेनाको उद्धार टोली तथा प्रहरी बृत्त जगातीको प्रहरी टोलीले खोजीगर्दा उनको शव रोशी भूमिडाँडामा फेला परेको बताइएको छ ।