मस्को, १४ भदौ । युरोपेली शक्तिराष्ट्रद्वारा इरानलाई प्रतिबन्ध लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानको आणविक कार्यक्रमबारे आफ्ना इरानी समकक्षी मसूद पेजेस्कियानसँग सोमबार चीनमा छलफलगर्ने बताउनुभएको छ । यूरोपेली शक्तिराष्ट्र बेलायत, फ्रान्स र जर्मनीले सन् २०१५ मा भएको आणविक सम्झौताको पालनागर्न असफल भएकोभन्दै इरानमाथि पुनः प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । मस्कोले हिजो शुक्रबार आफ्नो प्रमुख सहयोगी इरानलाई समर्थनगर्दै प्रतिबन्धहरु पुनः लागूगर्दा ‘अपूरणीय परिणामहरु’ हुने चेतावनी दिएको छ । रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–हामी उनीहरुलाई अपूरणीय परिणाम र थप त्रासदी निम्त्याउनुअघि आफ्ना गलत निर्णयहरुमा पुनर्विचार एवं पुनरावलोकन गर्न जोडदार आग्रह गर्दछौं । इरानको आणविक कार्यक्रमलाई लिएर जारी गतिरोधको शान्तिपूर्ण समाधान खोज्न युरोपेली तीनै देशले कूटनीतिक प्रयासलाई कमजोर बनाएको आरोप उसले लगाएको छ । क्रेमलिनले पुटिनले सोमबार चीनको तियानजिन शहरमा हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनकाक्रममा पेजेस्कियानसँग भेटवार्तागर्ने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य रुस सन् २०१५ को इरानसँगको संयुक्त बृहत् कार्ययोजना (जेसिपिओए) सम्झौताको एक पक्ष हो र उसले इरानलाई उसको आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा प्रतिबन्धमा राहत प्रदान गरेको थियो । यी तीन देशले गत बिहीबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई सूचितगर्दै इरानले सम्झौताअन्तर्गत गरेका प्रतिबद्धता पूरा नगरेको विश्वास व्यक्त गरेका छन् । विदेशमन्त्रीहरुले ‘स्न्यापब्याक’ संयन्त्र भनिने प्रक्रियाको आह्वान गरेका थिए । ‘स्न्यापब्याक’ अन्तर्गत उनीहरुले सन् २०१५ को सम्झौताअन्तर्गत निलम्बन गरिएका प्रतिबन्धहरु पुनः लागू गर्न ३० दिनको समयसीमा सुरु गरेका छन् । इरानले यस कदमको ‘उचित प्रतिक्रिया’ दिने चेतावनी दिएको छ । यसले इरानी आणविक जोखिमको शान्तिपूर्ण समाधानको लागि सबैभन्दा निरन्तर कूटनीतिक प्रयासलाई रोक्ने खतरा छ । तेहरान र मस्कोबीच विगत एक दशकदेखि राजनीतिक, सैन्य र आर्थिक सम्बन्ध प्रगाढ बन्दै गएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि दुई देशबीचको सम्बन्ध झनै प्रगाढ बनेको थियो । रासस,एएफपी