काठमाडौं, १६ भदौ । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा प्राध्यापक डा गोविन्द केसीले हिजोबाट सत्याग्रह शुरु गर्नुभएको छ । चिकित्सा शिक्षा सुधारको मागगर्दै आउनुभएका उहाँले एक पत्रकार सम्मेलनगर्दै तीनदिने २३औँ सत्याग्रह शुरु गरेको घोषणा गर्नुभएको थियो । डा केसीले सरकारले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी संख्या वृद्धिगर्न गरेको निर्णय तुरन्त फिर्ता लिन र शुल्क वृद्धि नगर्न मागगर्दै सत्याग्रह शुरुगरेको बताउनुभएको थियो ।
त्यसैगरी, विगतमा भएको सम्झौताअनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना तथा गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्णक्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम शुरुगर्न उहाँको माग गर्नुभएको छ । त्यसैगरी एकीकृत स्वास्थ्य शिक्षा र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारितगर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धिगरी सेवा प्रवाह गर्नेलगायत यसअघिका सम्झौता कार्यान्वयन गर्न डा केसीले आग्रह गर्नुभएको थियो ।