कायरो, १८ भदौ । इजिप्टको परराष्ट्र मन्त्रालयले गाजामा इजरायलले जारी राखेको सैनिक आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको निरन्तर उल्लंघनभन्दै गम्भीररुपमा भत्र्सना गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इजरायलको सैन्य विस्तारले युद्ध रोक्न इजिप्ट र कतारले अघिसारेको नयाँ युद्धविराम प्रस्तावसहितको विश्वव्यापी कूटनीतिक प्रयासलाई असफल तुल्याएको उल्लेख गरिएको छ । साथै, यसले गाजाको युद्ध अन्त्यगर्ने, क्षेत्रीय तनाव कम गर्ने र शान्ति स्थापनागर्ने कुरामा इजरायलको कुनै चाहना नरहेको स्पष्ट पार्दछ । मन्त्रालयले इजरायलले अन्तर्राष्ट्रिय समुदायले समर्थन गरेको दुई स्वतन्त्र राष्ट्रको अवधारणा अनुसारको शान्ति प्रक्रियाबाट आफूलाई पछि हटाएको थप उल्लेख गरेको छ । त्यस्तै, गाजामा निहत्था सर्वसाधारण नागरिकहरुमाथि गरिएको नाकाबन्दी र भोकमरीको नीतिले त्यस क्षेत्रको मानवीय संकटलाई अझ भयावह बनाउने खतरा बढाएको छ ।

अगष्ट आठगते इजरायलले आफ्नो सुरक्षा परिषद्ले गाजा शहरलाई नियन्त्रणमा लिने योजना पारित गरेको घोषणा गरेको थियो, जसको आलोचना स्वदेश तथा विदेश दुबैतर्फबाट भएको थियो । अगष्ट २८ गते इजरायली सेनाले गाजा शहरमा प्रारम्भिक सैनिक कारवाही शुरुगरिसकेको र शहरको छेउछाउमा तीव्र गतिविधि भइरहेको जनाएको थियो । यसैबीच, इजरायली सेनाले शहरमा लागूगरिएको दैनिक १० घण्टाको मानवीय विश्रामसमेत रद्ध गरिएको घोषणा गरेको छ, र गाजा शहरलाई अत्यन्तै खतरनाक युद्ध क्षेत्र घोषणा गरिएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरुले जनाएकाअनुसार सन् २०२३ अक्टोबर सातगतेदेखि हालसम्म इजरायली सैनिक कारवाहीका कारण ६३ हजार ५५७ जनाको मृत्यु भइसकेको छभने एक लाख ६० हजार ६६० जना घाइते भएका छन् । त्यस्तै, भोकमरी र कुपोषणका कारण तीन सय ४८ जनाको मृत्युभएको छ, जसमा १२७ जना बालबालिका रहेका छन् । रासससिन्ह्वा