किन्शासा, २० भदौ । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरुले इबोला भाइरसको नयाँ प्रकोपको घोषणा गरेका छन् । इबोलाले अगष्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कंगोका स्वास्थ्य मन्त्रीले बताउनुभएको छ । राजधानी किन्शासामा पत्रकारहरुसँग कुरागर्दै स्यामुअल रोजर काम्बाले मध्य कसाई प्रान्तमा नयाँ प्रकोप देखिएको बताउनुभएको हो । मध्य अफ्रिकी देशमा इबोलाको अन्तिम प्रकोप तीन वर्षअघि फैलिएको थियो जसमा छ जनाको मृत्युभएको थियो । अपुस्ट तथ्याङ्कअनुसार किन्शासामा इबोला संक्रमित २८ जना बिरामी भेटिएका छन्, जसमध्ये पहिलो संक्रमण अगष्ट २० मा अस्पतालमा भर्ना भएकी ३४ वर्षीया गर्भवती महिलामा देखिएको थियो ।
काम्बाले यो हाम्रो देशमा रेकर्ड गरिएको १६ औं प्रकोप हो भन्नुभयो । पहिलो पटक सन् १९७६ मा पहिचान भएको र चमेरोबाट आएको ठानिएको इबोला एक घातक भाइरल रोग हो जुन शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ, जसलेगर्दा अत्यधिक रक्तस्राव हुन्छ र अंगहरु बिग्रन्छन् । सन् २०१८ देखि २०२० को बीचमा १० करोडभन्दा बढी जनसंख्या रहेको कंगोमा सबैभन्दा घातक प्रकोपका कारण करिब दुई हजार ३०० जनाको मृत्युभएको थियो । इबोलाका छ प्रजाति छन् । स्वास्थ्य अधिकारीहरुले नयाँ प्रकोप खोप उपलब्ध भएको जाइरे स्ट्रेनको नयाँ प्रकोप भएको बताएका छन्। काम्बाले भाग्यवस हामीसँग जायर स्ट्रेनको भ्याक्सिन छ तर यसलाई प्रयोगगर्न हामीले लजिस्टिक सुनिश्चितगर्न आवश्यक छ भन्नुभयो । फ्रान्सको आकारभन्दा चार गुणा ठूलो कंगोमा प्रायः सीमित र खराब सञ्चार च्यानलसहित कमजोर पूर्वाधार छ । रासस÷एएफपी