काठमाडौं, २० भदौ । देशका बिभिन्न स्थानमा डेंगुभन्दा स्क्रब टाइफसको संक्रमण तीब्र भएको थाहाभएको छ । यसैक्रममा प्राप्त एक समाचारअनुसार बागलुङमा डेंगुभन्दा स्क्रब टाइफसका बिरामी धेरै देखिएका छन् । साउनयता जिल्लामा २० जनामा डेंगु संक्रमण देखिँदा १५८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार डेंगुभन्दा आठ गुणाबढी स्क्रब टाइफस देखिएको छ । स्क्रब टाइफसका सबैभन्दा धेरै संक्रमित गलकोट नगरपालिकामा फेला परेका छन् । गलकोट नगरपालिकामा १३५ जना स्क्रब टाइफसबाट संक्रमित भएका छन् । त्यसपछि बडिगाड गाउँपालिकामा आठ, ताराखोला गाउँपालिकामा चार र ढोरपाटन नगरपालिकामा एकजना संक्रमित भेटिएका छन् ।

अन्य जिल्ला ठेगाना भएका छजना संक्रमित भएका छन् । गलकोट नगर अस्पतालमा १५८ जनामध्ये १५३ जना, धौलागिरी अस्पतालमा चारजना र बुर्तिबाङ अस्पतालमा एक जनामा स्क्रब टाइफस पुष्टि भएको छ । गलकोट नगर अस्पतालमा आउने बिरामीमध्ये दैनिक न्यूनतम पाँचजनासम्मका बिरामीमा स्क्रब टाइफस देखिएको छ । अन्यत्रभन्दा यहाँ धेरै परीक्षण गरेका कारण संक्रमणको संख्यासमेत बढी पाइएको गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले स्थानीय समाचारदाताहरुलाई बताउनुभयो । उहाँले अहिले अस्पतालमा सातजना स्क्रब टाइफस र डेंगुका बिरामी उपचाररत रहेका र अन्य बिरामी उपचारपछि घर फर्केको जानकारी दिनुभयो । स्क्रब टाइफस मुख्यतया झारपात र घाँसपातमा बस्ने किराबाट फैलने भएकाले सावधानी अपनाउन पर्ने स्वास्थ्यकर्मी बताउँछन् । संक्रमितलाई उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा रातो दाग आउनेलगायतका लक्षण देखिने गर्छ ।