जेनेभा, २४ भदौ । संयुक्त राष्टसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले हिजो सोमबार गाजाबारे इजरायली अधिकारीहरुले गरेको नरसंहारको बयानबाजीप्रति कडा चेतावनीदिँदै त्यसको अन्त्यका लागि निर्णायक अन्तर्राष्ट्रिय कारवाहीगर्न आह्वान गर्नुभएको छ । उहाँले कब्जा गरिएको प्यालेष्टिनी क्षेत्रलाई पहिले नै चिहान भएको बताउनुभएको छ । संयुक्त राष्टसंघीय मानव अधिकार परिषद्को ६० औँ सत्रमा उद्घाटन सम्बोधनगर्दै टर्कले गाजामा इजरायलले प्यालेस्टिनी नागरिकहरुको सामूहिक हत्यागरेको, अवर्णनीय पीडा र थोक विनाश ल्याएको, जीवनरक्षक सहायता रोक्का गरेको, नागरिकलाई भोकमरीतर्फ धकेलेको, पत्रकार, संयुक्त राष्टसंघका कर्मचारी तथा एनजिओ कामदारहरुको हत्या गरेको भन्दै कडा निन्दा गर्नुभएको छ । उहाँले वरिष्ठ इजरायली अधिकारीहरुले खुलेर नरसंहारको बयानबाजी गरेको र प्यालेष्टिनीहरुप्रति अमानवीय तथा अपमानजनक शब्दप्रयोग गरेको देख्दा म गम्भीर चिन्तित छु भन्नुभयो ।
हमासको घातक आक्रमणपछि शुरु भएको युद्ध करिब दुई वर्ष पुगेको सन्दर्भमा उहाँले ‘क्षेत्र शान्तिका लागि कराइरहेकोभन्दै जोड दिनुभयो । उहाँले अधिकार परिषद्मा गाजालाई चिहानको संज्ञा दिनुभयो । यसैबीच इजरायली सेनाले गत आइतबार गाजा सहरस्थित एक आवासीय टावर ब्लकमा लगातार तेस्रो दिन बम प्रहार गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीको प्रमुख शहरी क्षेत्रमा आक्रमणलाई गहिरो पारिरहेको घोषणा गरेसँगै टर्कको टिप्पणी आएको हो । गत महिना गाजामा आधिकारिक रुपमा अनिकाल घोषणा गरिएको थियो । संयुक्त राष्टसंघका अनुसार गाजा सहर र वरिपरि करिब १० लाख मानिस बसोबासगर्दै आएका छन् । निरन्तर इजरायली आक्रमण जारीरहेमा विपत्ति निम्त्याउने चेतावनी संयुक्त राष्टसंघले दिएको छ । टर्कले भन्नुभयो–थप सैन्यीकरण, कब्जा, विलय र दमनले हिंसा, प्रतिशोध र आतंकलाई मात्र पोषण गर्नेछ । उहाँले अन्तर्राष्ट्रिय न्याय अदालतले आदेश दिएअनुसार इजरायलका नरसंहारका कार्य रोक्न, नरसंहार उक्साउनेलाई सजाय दिन र गाजामा पर्याप्त सहायता पु¥याउन कानूनी दायित्व रहेको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय समुदाय आफ्नो कर्तव्यमा असफल भएको भन्दै कडा आलोचना गर्नुभयो । उहाँले हामी गाजाका जनतालाई असफल तुल्याइरहेका छौँ भन्नुभयो । नरसंहार रोक्न निर्णायक कदम कहाँ छन् ? भन्दै उहाँले देशहरुलाई ‘अत्याचार अपराध रोक्न अझ बढी गर्नुपर्ने’ आग्रह गर्नुभयो । साथै उहाँले चेतावनी दिँदै इजरायलतर्फ हतियारको प्रवाह तत्काल रोक्नुपर्छ, जसले युद्धको कानून उल्लंघनगर्ने जोखिम बढाउँछ भन्नुभयो । रासस,एएफपी