काठमाडौँ, २५ भदौ । प्रमुख प्रशासनिक निकाय रहेको सिंहदरबारमा भएको लुटपाट र आगजनीको छानविनका लागि कुनै तदारुकता नदेखाइएको प्रति सर्बत्र आश्चर्य ब्यक्तगर्न थालिएको छ । भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालनका लागि भएको प्रदर्शनकाक्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्नेक्रममा गत सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मंगलबार प्रदर्शनले उग्ररुप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् । आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको अवस्था थियो ।
गृह, ऊर्जा, जलश्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बढी प्रभावित भएको देखिन्छ । त्यसैगरी सिंहदरबारस्थित नेपाली कांग्रेस र एमालेका संसदीय दलका कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सिंहदरबाभित्र पार्किङ गरिएका करिब एक हजार सवारी साधनमा आगजनी र तोडफोड भएको अनुमान छ । आन्दोलनकारीले मन्त्रालयका कम्प्युटर, प्रिन्टर, ल्यापटप, कुर्सीलगायत महत्वपूर्ण सामग्री तोडफोड र लुटपाटसमेत भएको सम्बन्धित मन्त्रालयका कर्मचारीले जनाएका छन् । यसबाट राज्यलाई अरर्बौको क्षति भएको अनुमान गरिएको छ ।
प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन, दूग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारीबाट भएको आजगनीबाट मन्त्रालयमा रहेका राज्य सञ्चालनसम्बन्धी महत्वपूर्ण कागजात छरपस्ट भएको देखिएको छ । तर यसतर्फ देशका कामचलाउ कार्यकारी प्रमुख प्रधानमन्त्रि र राष्ट्रपतिले खासै ध्यान नदिएकोमा सर्बत्र आश्चर्य र चिन्ता ब्यक्त भैरहेको छ ।