काठमाडौं, ३१ भदौ । गतसाता भएको आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लंघन भएको आवाज उठेको छ । सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको एक अध्ययनले सुरक्षाकर्मीहरुले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरुको मृत्यु, घाइते र मनपरि रुपमा पक्राउ गर्दा गहिरो मानसिक आघात परेको उल्लेख गरेको छ । उक्त प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई औपचारिकरुपमा बुझाइएको छ । यसले स्वास्थ्य, मनोसामाजिक सहयोग, सुरक्षा, कानूनी सहायता र शिक्षाजस्ता क्षेत्रमा तत्काल सहयोगको आवश्यकता रहेको देखाएको छ । प्रतिवेदनमा भनिएको छविशेषगरी प्रहरी र बालबालिका तथा युवाहरुबीच गहिरो अविश्वास भएको छ ।
आगामी दिनमा बालअधिकार उल्लंघन रोक्न शान्ति निर्माण र रुपान्तरणको आवश्यकता छ । सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले सरकारने तुरुन्तै आवश्यक कदम चालेर आफ्नो जिम्मेवारी सुनिश्चितगर्न, अत्यधिक बल प्रयोग नगर्न, पीडितलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन र जेनजी आन्दोलनकाक्रममा भएको हिंसा तथा राज्यद्वारा भएको दमनको स्वतन्त्र छानबिन शुरुगर्न आग्रह गर्नुभएको छ । अध्ययनका मुख्य सिफारिसहरुमा, राज्य हिंसाबाट उत्पन्न आघात र पुस्तान्तरगत असर सम्बोधनगर्न बालमैत्री मासिक स्वास्थ्य तथा मनोसामाजिक सेवाहरुलाई सुदृढ बनाउने, बालबालिका, युवा र राज्य संयन्त्रबीच विश्वासको पुनःस्थापनागर्न शान्ति निर्माण र द्वन्द रुपान्तरणका दृष्टिकोणलाई समावेशगर्ने, राज्यका सुरक्षा निकाय र सुरक्षाकर्मीलाई बालअधिकारबारे संवेदनशील बनाउने र जवाफदेही प्रणालीलाई बलियो बनाउने विषय समावेश छन् ।