लन्डन, १ असोज । बेलायत सरकारले आतंकवादी समूह घोषणा गरेको प्यालेस्टाइन एक्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका तीन जनाले लन्डनको अदालतमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जुलाईमा प्रतिबन्ध लगाएर प्यालेष्टाइन एक्शनलाई गैरकानुनी घोषणा गरेपछि सयौं प्रदर्शनकारीहरुलाई गिरफ्तार गरिएको थियो । हिजो मंगलबार अदालतमा उपस्थित ती तीन मध्ये दुईजना ७० वर्षमुनिका छन् । उहाँहरुलाई वेष्टमिन्स्टर म्याजिष्ट्रेट अदालत बाहिर समर्थकहरुले नारा लगाउँदै स्वागत गरेका थिए । जेरमी शिपम (७२), जूडिट मरे (७१) र फियोना म्याक्लिन (५३) ले आफूहरु निर्दोष भएको बताउनुभयो र मार्च १६ सम्म जमानतमा रिहाभएका छन् । यी तीनैलाई जुलाई पाँचमा वेष्टमिन्स्टरमा भएको प्रदर्शनपछि पक्राउ गरिएको थियो। जहाँ उनीहरुले सार्वजनिक स्थानमा म जनसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्शनलाई समर्थन गर्छु लेखिएको प्लेकार्ड बोकेर आन्दोलन गरेको आरोप छ ।

सरकारले प्यालेष्टाइन एक्शनलाई प्रतिबन्ध लगाएको कारण यसले केही तोडफोड गरेको थियो, जसमा दुई रॉयल एयर फोर्सका विमानहरुलाई क्षति पुर्याइएको थियो । उक्त क्षतिको अनुमान करीब ७० लाख पाउन्ड (१ करोड डलर) रहेको छ । प्रतिबन्धलाई संयुक्त राष्ट्रसंघ र अन्य आलोचकहरुले अभिव्यक्ति स्वतन्त्रताको हनन्भन्दै विरोध गरेका छन् । प्रदर्शनकारीहरुको साथी के वेग्ल्यान्डले भन्नुभयो–सरकारले शान्तिपूर्ण आन्दोलनगर्ने समूहलाई आतंकवादी घोषणा गरेको छ, जुन गलत छ । यसैबीच सरकारले आतंकवाद विरोधी कानूनअन्तर्गत धेरै प्रदर्शनकारीहरुलाई गिरफ्तार गरिरहेको छ । सेप्टेम्बर ६ मा लन्डनमा भएको प्रदर्शनमा ८९० जनालाई पक्राउ गरिएको थियो । रासस,एएफपी