काठमाडौं । छिमेकी भारतमा नेपाली मूलका नेताहरु पक्राउगर्ने क्रम बढ्दै गएको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । यसैक्रममा भारतका चर्चित जलवायु एवं शिक्षासम्बन्धी अभियन्ता सोनम वाङ्चुकलाई पक्राउ गरिएको छ । उहाँलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत मुद्धासमेत लगाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी पक्राउ परेसँगै लद्धाखस्थित लेहमा इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लेहमा केही दिनयता चर्किएको आन्दोलनमा वाङ्चुकले साथदिँदै आएको आरोप लगाइएको छ । लद्धाखलाई राज्यको मान्यता दिन र संविधानको छैठौँ अनुसूचीमा समावेशगर्न मागगर्दै भएको प्रदर्शनमा सहभागीहरु र सुरक्षाकर्मीबीच गतसाता बुधबार हिंसात्मक झडप हुँदा चारजनाको मृत्यु भएको थियोभने ९० जना घाइते भएका थिए । सन् २०१९ मा भाजपा नेतृत्व सरकारले जम्मु र कश्मिरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको प्रावधान खारेजगरी यूनियन टेरेटरी अर्थात केन्द्रले नै शासनगर्ने प्रदेशमा परिणत गरेको थियो ।

भारतीय संविधानको छैठौँ अनुसूचीले लद्धाखजस्ता मुख्यतः आदिवासी समुदाय बसोबासगर्ने क्षेत्रहरुलाई विशेष स्वायत्त राज्यको रुपमा बिभिन्न विशेष अधिकारको व्यवस्था गरेको छ । भनिन्छ वाङ्चुकले सेप्टेम्बर १० मा लेहमा आमरण अनशन शुरु गर्नुभएको थियो । उहाँले छैठौँ अनुसूचीमा लद्धाखको समावेश, राज्यको मान्यता र वातावरण संरक्षणको माग राख्नुभएको थियो । तर, सेप्टेम्बर २४ को हिंसात्मक झडप भएपछि उहाँले अनशन तोड्नु भएको थियो । यसैक्रममा भारतको आम आदमी पार्टी (आप) ले वाङ्चुकको गिरफ्तारीविरुद्ध गत शुक्रबार साँझ सातबजे जन्तर–मन्तरमा दीप प्रज्वलनसमेत गरेको थियो । वाङ्चुकले दक्षिण एशियाली देशमा युवाहरु जागरुक हुँदैआएको र उक्त समूहले नेपालका तत्कालिन प्रधानमन्त्री केपी ओलीको सरकार नै ढालिदिएको प्रतिक्रिया दिनुभएको थियो । जम्मु र कस्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले वाङ्चुकको गिरफ्तारीलाई दुःखद् भएको बताउनु भएको छ ।