काठमाडौं, १३ असोज । बर्तमान सरकार गत भदौका आन्दोलनकारीको सेवामा तल्लीन भएर लागेको देखिएको छ । यसैक्रममा सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्थागर्न परिचयपत्र उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिकगर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घाइतेलाई परिचयपत्र उपलब्ध गराउन गृह मन्त्रालयले प्रारम्भ थाल्ने जानकारी दिनुभएको हो । मन्त्री खरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेको पुनः उपचार अर्थात फलोअपका लागि अस्पताल तोक्नुकासाथै ती अस्पतालमा जेनजी क्लिनिक सञ्चालनगर्ने निर्णय भएको बताउनुभएको थियो । उहाँले घाइतेको निःशुल्क आवत–जावतसँगै उपचारकोसमेत व्यवस्था मिलाउने निर्णय भएको छ । घाइतेको उपचारका लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुकासाथै सहजीकरणगर्न सम्पर्क व्यक्ति तोकेर निजको सम्पर्क नम्बर सार्वजनिकरुपमा राखिने छ ।

घाइतेको वर्गीकरणगर्न प्राविधिक समिति गठन गरेर तत्काल कार्य प्रारम्भगर्ने निर्णय भएको बताउनु भएको छ । त्यसैगरी सरकारले गत भदौको आन्दोलनकाक्रममा घाइते भएकालाई बिशेष परिचयपत्र वितरणगर्न शुरुगरेको थाहाभएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा गई घाइतेलाई घाइते परिचयपत्र वितरणगर्न शुरु गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनहजार परिचयपत्र छपाइ गरेर घाइतेलाई वितरण गरिएको बताइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयको तथ्यांकमा कुल दुई हजार ३१६ जना घाइतेको सूची रहेको जानकारी दिँदै घाइते परिचयपत्रभने तीन हजारप्रति छापिएको बताउनुभएको थियो । उहाँले पछि घाइतेको संख्या बढ्न सक्ने भएकाले तीन हजार घाइते परिचयपत्र छापिएको बताउनुभएको थियो । डा. बुढाथोकीका अनुसार हिजै काठमाडौं, भक्तपुर र ललितपुरमा परिचयपत्र पठाइसकिएको छ । सबैभन्दा धेरै बिरामी रहेको राष्ट्रिय ट्रमा सेन्टरबाट घाइते परिचयपत्र वितरण गरिएको भनिएको छ ।