बेइजिङ, १४ असोज । चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षीलाई भेट्दै प्योङयाङसँगको सहकार्यलाई अझ सुदृढ बनाउन र संयुक्तरुपमा आधिपत्यवादको विरोधगर्न चाहने स्पष्ट अभिव्यक्ति दिनुभएको छ । यो भेटवार्ता उत्तर कोरियाली नेता किम जोङ उनको दुर्लभ चीन भ्रमण भएको केही सातापछि आइतबार बेइजिङमा सम्पन्न भएको हो । त्यस अवसरमा उत्तर कोरियाका विदेशमन्त्री चो सोन–हुईले वाङसँग भेटवार्ता गर्नुभएको थियो । वाङले भन्नुभयो–चीन–उत्तर कोरिया सम्बन्धलाई कायम राख्नु, सुदृढ पार्नु र विकास गर्नु चिनियाँ सरकारको अटल रणनीतिक नीति हो । चीन अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा उत्तर कोरियासँग सहकार्य र समन्वय बढाउन इच्छुक छ । हामी सबै प्रकारका आधिपत्यवादको विरोधगर्दै दुवै पक्षको साझा हित र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको रक्षागर्न प्रतिबद्ध छौँ । यी टिप्पणीहरु चीनले आफ्नो प्रमुख प्रतिस्पर्धी संयुक्त राज्य अमेरिकालाई लक्षित गर्दै गरेको प्रष्ट देखिएको विश्लेषकहरुको भनाइ छ ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले मन्त्रीहरुबीचका छलफलमा विभिन्न मुद्धाहरुमा पूर्णसहमति भएको उल्लेख गरेको छ । दक्षिण कोरियाली एजेन्सी योनहापले पनि दुवै मन्त्रीले अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरुमा गहिरो विचार–विमर्श गरी पूर्णसहमति गर्नुभएको जानकारी दिएको छ । प्योङयाङको आणविक कार्यक्रमका कारण चीन–उत्तर कोरिया सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण भएपनि दुई छिमेकीबीचको घनिष्ठता कायम रहँदै आएको छ । यसै महिनाको शुरुमा बेइजिङमा दोश्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवमा आयोजित भव्य सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै उभिनुभएको थियो । बेइजिङ उत्तर कोरियाका लागि कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको महत्त्वपूर्ण स्रोत मानिन्छ ।
दुवै देश संयुक्त रुपमा अमेरिकाविरुद्धको साझा विरोधमा बाँधिएका छन् । यसैबीच, किमले यदि वाशिंटनले उत्तर कोरियालाई आफ्नो आणविक कार्यक्रम परित्यागगर्न माग नगरे मात्र प्योङयाङ अमेरिकासँग पुनः सम्पर्कमा जान तयार हुने बताउनुभएको छ । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई अमेरिकासहित दक्षिण कोरिया र अन्य सहयोगीहरुले दिएको सुरक्षा चुनौतीको न्यायसंगत प्रतिक्रिया भएको ठहर गरेको छ । रासस÷एएफपी