काठमाडौं, १४ असोज । दशैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या बढ्दै गएको छ । घटस्थापनादेखि हिजोसम्मका आठदिनमा पाँचलाख ५३ हजार २६१ जनाले काठमाडौंउपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार गत छगते घटस्थापना शुरुभएको दिनदेखि आजसम्म पाँचलाख ५३ हजार २६१ जना यात्रु बिभिन्न नाकाबाट काठमाडौंउपत्यकाबाट बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं बाहिरिने यात्रुको चाप बढेसँगै यात्रुको सुविधाका लागि बिभिन्न नाका र पार्किङस्थलहरुमा थप ट्राफिक प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँले यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन् ।

ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको बताउनु भएको छ । चाडपर्वका समयमा तथा विषेशगरी लामो दूरीका सवारी चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँचगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । घटस्थापनादेखि हिजोसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारीसाधनको संख्या एकलाख ८९ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् । त्यसैगरी काठमाडौंउपत्यकामा ७२ हजार ४१ सवारीसाधनबाट दुई लाख ८५ हजार ३०८ जना हिजोसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

विशेषगरी कोटेश्वर, कलंकी, बल्खु, नयाँबसपार्क, जगतीलगायत नाकामा यात्रुको भीड देखिन्थ्यो । राजधानीबाट बाहिरिने यात्रुहरुको मुख्य माध्यम सार्वजनिक सवारी भए पनि निजी सवारीसाधन र पर्यटक बसको प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको छ । दशैं नजिकिएसँगै गाउँमा पारिवारिक भेटघाट, दुर्गा पूजाको तयारी र टीका ग्रहणको वातावरण चुलिँदै गएको छ । काठमाडौँमाभने सवारी चाप घटेपछि सडक तुलनात्मक रुपमा फुर्सदिला देखिन थालेका छन् । रासस