जम्मू, १९ असोज । भारतीय मौसम विभागबाट भारी वर्षाको पूर्वानुमानपछि जम्मू–कश्मीर सरकारले जम्मु क्षेत्रका बिद्यालयहरु बन्दगर्न आदेश दिएको छ । त्यहाँको सरकारले जारीगरेको निर्देशन अनुसार जम्मूका सबै सरकारी र निजी बिद्यालयहरु अक्टोबर ६ र ७ गते (आज र भोली) बन्द हुनेछन् । जम्मूको राजौरी क्षेत्रमा परेको तीव्र वर्षाले ठूलो क्षति पु¥याएको छ । क्षतिग्रस्त घर, डुबेका सडक र नष्ट भएका बालीनालीका कारण बासिन्दाहरुले चुनौतीहरुको सामना गरेका छन् । अविरल वर्षाका कारण पहिरो खस्दा जिल्लाका धेरैजसो सडक अवरुद्ध भएका छन् ।

जम्मू–कश्मीरको उधमपुरको बान्ट गाउँका बासिन्दाहरुले पनि भारी वर्षाले प्रमुख पुल बगाएपछि ठूलो चुनौतीको सामना गर्नुपरेको थियो। मेघगर्जनसहित अत्यधिक बर्षापछि आकस्मिकरुपमा आएको बाढीजन्य प्राकृतिक प्रकोपकासाथै हालै भएका हिंसात्मक सशस्त्र आक्रमणका कारण लोकप्रिय भद्रवाह क्षेत्रमा पर्यटकीय स्थलहरु सुनसान बनेका छन् । आफ्नो जीविकोपार्जनका लागि पर्यटनमा धेरै निर्भर रहेका स्थानीय बासिन्दाहरुले सरकारलाई हस्तक्षेपगर्न र उद्योगलाई पुनर्जीवितगर्न मद्दतगर्न आग्रह गरिरहेका छन् । एक स्थानीयले विधायकलाई भद्रवाहको पर्यटनको मुद्धा विधानसभामा उठाउन र पर्यटकहरुलाई आकर्षितगर्न र पर्यटन बढाउन चाडपर्वहरु आयोजनागर्न अपील गरेका छन् । रासस,एएफपी