काठमाडौं, २२ असोज । असोजमै हिमपात शुरु हुनुलाई अत्यधिक जाडो बढ्ने संकेतकारुपमा लिन थालिएको छ । माघ लागेपछि मात्रै हिउँपर्ने उत्तरी गोरखामा यो बर्ष असोजमै हिमपात भएको छ । हिमालपारिको चुमनुब्री–१ साम्दोमा गत सोमबार हिमपात भएको थियो । असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले स्थानीय समाचारदाताहरुलाई बताउनुभएको छ । उहाँले जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गहरुँगो हुन्छ ।

यस्तो हिउँले आलुलगायत बालीमा असर पु¥याउँछ । हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर देखिएको छैन भन्नुभएको छ । लामाका अनुसार हिजो दिउँसोबाट अलिअलि घाम लाग्न थालेकाले हिउँ विस्तारै पग्लिँदै गएको छ । अब मौसम सफा हुनेबित्तिकै खेतीबाली भित्र्याउने तयारीमा आम किसान रहेका छन् । साम्दो समुद्री सतहबाट तीन हजार ८९० मिटर उचाइमा अवस्थित छ । यहाँ आलु र फापर मात्र उत्पादन हुन्छ ।