काठमाडौं, २३ असोज । कास्की जिल्लास्थित बिभिन्न ११ वटा रोटरी क्लबले हिंसारहित शान्तिपूर्ण समाज कायम हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुुझाएका छन् । हालै भएको प्रदर्शन र त्यसयता भएका बिभिन्न गतिविधिका कारण सिंगो समाज नै प्रभावित बनेकोभन्दै रोटरी क्लब अफ पोखरा फिष्टेलका अध्यक्ष कमला गिरीको संयोजकत्वमा गएको टोलीले हिजो कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई शान्ति, सुव्यवस्था कायमगर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो । आन्दोलनकाक्रममा प्रस्तुत गरिएका माग, त्यसको प्रभाव र त्यसपछिको सामाजिक तथा राजनीतिक अवस्थाले एकापसमा अविश्वास, असहिष्णुता, तनाव र हिंसा आदिका घटना एकपछि अर्को गर्दैआएको ज्ञापनपत्रमा उल्लेख छ ।

शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको आधारभूत पक्ष भए पनि त्यसबाट सिर्जना हुने जुनसुकै किसिमका परिस्थितिलाई सम्हाल्दै समस्याको दीर्घकालीन समाधान गर्ने जिम्मेवारी प्रशासन, नागरिक समाजसहित सबैको कर्तव्यसमेत भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा यस्ता जुनसुकै समस्याको समाधान हिंसा, प्रतिशोध वा विभेदजन्य व्यवहार नभई संवाद, मेलमिलाप र सहकार्य हो भन्नेमा आफूहरु दृढ छौँ । त्यसैले शान्तिपूर्ण संवादका माध्यमबाट समाधान खोज्नेमा सम्बद्ध सबै पक्ष लाग्नुु अपरिहार्य छ भनिएको छ । उक्त ज्ञापनपत्रमा आन्दोलनपश्चात् यसले पारेको मनोवैज्ञानिक त्रासलाई हटाउँदै शान्ति र सद्भावपूर्ण समाज निर्माणका लागि सबैको एकताबद्ध प्रयास अपरिहार्य छ । यस सन्दर्भमा कुनै पनि हिंसात्मक एवम् द्वन्दात्मक गतिविधिको अन्त्यका लागि कुनै पनि पक्षबाट हुने हिंसात्मक क्रियाकलापलाई निगरानीगर्दै त्यसको कानुनी उपचारका लागि आग्रह छ भनिएको छ । रासस