काठमाडौं, २३ असोज । तीन घण्टाको बाटो १२ घण्टासम्म लाग्ने अवस्था सिर्जना भएको बताइएको छ । गत १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको हो । हिजोआज तराईका बिभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरु वैकल्पिक मार्गको प्रयोगगर्न थालेका छन् । खुर्कोट—मन्थली— चरिकोट— मुडे — खाडिचउरहुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुनथालेको छ । सवारी अवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालयहुँदै बसपार्क निस्केर काठमाडौं पठाउने र उताबाट आउने सवारीसाधनलाई बसपार्कबाट कटहरबोट चोकहुँदै देवकोटा चोकमा निस्कनेगरी एकतर्फी यातायात सञ्चालन गर्नेगरेको छ ।
बिपी राजमार्गहुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौं आउजाउगर्ने सवारीसाधनले वैकल्पिक मार्गकारुपमा यो सडक प्रयोग गर्नेगरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताउनुभएको छ । खुर्कोटबाट काठमाडौं आउन करिव तीनघण्टा लाग्ने गरेकोमा हाल १२ घण्टासम्म लाग्ने गरेको बताइएको छ ।