ओस्लो,२४ असोज । भेनेजुएलाकी विपक्षी कार्यकर्ता मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्नुभएको छ । नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गन वाटने फ्राइड्नेसले मचाडोलाई गहिरोरुपमा विभाजित राजनीतिक विपक्षमा साझा आधार फेला पार्ने एकीकृत र साहसी नेतृत्वको प्रतीकभएको भन्दै सम्मानित गर्नुभयो । उहाँले गतवर्ष मिस मचाडोलाई लुकेर बस्न बाध्य पारियो । उहाँको जीवन विरुद्ध गम्भीर खतराहरुका बावजुद, उहाँले देशमारही लाखौँलाई प्रेरित गर्नुभएको छ । अधिनायकवादीहरुले सत्ता कब्जागर्दा उठ्ने र प्रतिरोध गर्ने स्वतन्त्रताका साहसी रक्षकहरुलाई चिन्न महत्त्वपूर्ण हुन्छ भन्नुभयो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकारले गत वर्षको राष्ट्रपति चुनाव अघि मचाडोलाई अयोग्य ठहरगर्दै उहाँको चुनावी उम्मेदवारीलाई रोकेको थियो ।

उहाँलाई विस्थापित गरी एडमुन्डो गोन्जालेजलाई उम्मेदवार बनाइएको थियो । यसअघिका निर्वाचनमा व्यापक दमन, मानव अधिकार उल्लंघन र गिरफ्तारी जस्ता चुनौतीहरु देखिएका थिए । निर्वाचन परिषद्ले गोन्जालेजलाई विजेता घोषणा गरेपछि देशभर विरोध प्रदर्शन भड्कियो । प्रदर्शनमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । यी विरोधहरुले भेनेजुएला र अन्य विदेशी राष्ट्रहरुबीच कूटनीतिक सम्बन्धमा तनाव सिर्जना ग¥यो । मचाडो यस अवधिमा लुक्नुभएको थियो र जनवरीदेखि सार्वजनिक रुपमा देखापर्नुभएको छैन । नोबेल समितिले प्रायः शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्व प्रवद्र्धन र सम्बन्धित संस्थाहरुको शान्त कार्यलाई सम्मानगर्दै पुरस्कार प्रदान गर्दछ । गत वर्षको पुरस्कार जापानी आणविक विस्फोटबाट बचेका निहोन हिडान्क्योलाई दिइएको थियो ।

उक्त संस्थाले आणविक हतियारको प्रयोगको वरिपरि रोक कायम राख्न दशकौँसम्म काम गरेको छ । शान्ति पुरस्कार नर्वेको ओस्लोमा वार्षिकरुपमा प्रदान गरिन्छ । यसैबीच, स्विडेनको स्टकहोममा यस हप्ता चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका पुरस्कारहरु वितरण भइसकेका छन्भने अर्थशास्त्रको पुरस्कार विजेताको घोषणा आगामी सोमबार हुने अपेक्षा गरिएको छ । रासस। एपी