दोहा, २६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रुपमा हमासको निशस्त्रीकरणको चर्चा असम्भव शर्तभएको हमासका एक अधिकारीले शनिबार एएफपीसँग बताएका छन् । ती अधिकारीले प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा हो र यो सम्झौताको शर्त बन्नसक्दैन भने । यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले हमासले शान्ति योजनाको दोस्रो चरणमा हतियार बुझाउने विषयलाई सम्बोधन गरिने संकेत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका २० बुँदे योजनामा हमासका सदस्यहरुलाई माफी दिने वाचा गरिएको छ र प्रस्तावले हमासले आफ्ना हतियारहरु हटाउने र इजरायली सेनालाई गाजा छोड्न अनुमति दिने उल्लेख गरिएको छ ।
हमासका अधिकारीले सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि पक्राउ परेका इजरायली बन्धकहरुको रिहाइका लागि सोमबारसम्मको ७२ घण्टाको समयसीमा अघि गाजामा युद्धविराम जारीगर्ने बिषयमा बोल्दै निशस्त्रीकरण असम्भव शर्त भएको बताएका हुन् । हमासको निशस्त्रीकरण र इजरायली सेनाको फिर्तीलाई दुईवर्षको विनाशकारी युद्धको अन्त्यको अन्तिम मिलन विन्दुकारुपमा ट्रम्पको योजनामा प्रस्ताव गरिएको छ। रासस,एएफपी