काठमाडौं,२६ असोज । पर्साका १४ वटै पालिका मा आजबाट हैजाको खोप दिइँदै छ । पर्सामा छलाख ५२ हजार ११९ जनालाई खोप दिइनेछ । प्राप्त समाचारअनुसार पर्सामा गत भदौको पहिलो साता हैजाको संक्रमणका बिरामी देखापरेका थिए । स्वास्थ्य कार्यालय पर्साले हिजो आयोजित हैजाविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनबारे जिल्लास्तरीय सरोकारवाला निकायको अभिमुखीकरण कार्यक्रममा पर्साका १४ वटै पालिकामा असोज २६ देखि आगामी कात्तिक दुई गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालनगर्ने जनाएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले आज आइतबारदेखि पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालनगर्न लागेको जानकारी दिनुभएको छ ।
उहाँले यहाँ भदौको पहिलो साता हैजाका बिरामी देखा परेकाले पनि खोप अभियान सञ्चालनगर्न लागेका हौँ । यो खोप अभियानले हैजाको सङ्क्रमण न्यूनीकरणगर्न सघाउ पुग्ने विश्वास लिएका छौँ भन्नुभएको छ । उक्त अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाएको जनाएको छ । सो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरुप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ । यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो खोप एकबर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभउको छ ।
बारामा आगामी २९ गतेदेखि शुरुगरेर तिहारअघि सकाउने महाशाखाको योजना छ । जनस्वास्थ्य अधिकृत ठाकुरले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीसहित सर्वसाधारणका लागि खोप अभियान शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।