काठमाडौं, २७ असोज । सर्वोच्च अदालतले भोली असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइगर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरुको पूर्ण बैठक (फूल कोर्ट) ले असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ हुने निर्णय गरेको हो । सर्वोच्च अदालतबाट जारी सूचनामा यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता–०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता–०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरु असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ हुनेछ ।
साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको भनिएको छ । यसअघि गत भदौ २४ गते भएको प्रदर्शनकाक्रममा अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटबाट क्षतिहुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियोे । त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ । रासस