काठमाडौं, २८ असोज । आजबाट एमालेका किसानहरु सडक आन्दोलनमा उत्रने भएका छन् । भूमि आयोग विघटनप्रति किसानसम्बद्ध दुई संस्थाले आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले हिजो काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगले भूमि समस्या समाधानका लागि गरेका कामको स्वामित्व कसले लिनेभन्ने चिन्ता भएको बताइएको थियो । भूमि समस्या समाधानका लागि कानूननै निर्माण गरेर गठन गरिएको आयोग विघटन गर्नुअघि सरोकारवालासँग छलफल गरिनुपर्ने महासंघका अध्यक्ष डा प्रेम दंगाल र श्रमिक संगठनका अध्यक्ष इन्द्र तामाङले जानकारी दिनुभएको थियो । आयोग विघटनको बिरोधमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिँदैछभने भोली असोज २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको एक विज्ञप्तिमा जनाइएको छ ।