स्पिन बोल्दाक ३० असोज । पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरुले बताएका छन् । नयाँ चरणको सीमा भिडन्तमा दर्जनौं सेना र सर्वसाधारणको मृत्युभएको थियो । काबुल र अफगानिस्तानका अन्य स्थानमा भएको बिष्फोटपछि दुई छिमेकीबीच एक हप्तासम्म जारी हिंसालाई रोक्ने प्रयासस्वरुप अस्थायी युद्धविरामको घोषणा गरिएको हो । तालिबान सरकारले प्रतिशोधको रुपमा आफ्नो दक्षिणी सीमाका केही भागहरुमा आक्रमण शुरु गरेपछि इस्लामाबादले कडा प्रतिक्रिया जनाएको थियो । इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानी तालिवान (टिटिपी) को नेतृत्वमा रहेको लडाकू समूहलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाएको छ । अफगानिस्तानको राजधानी काबुलमा हिजो बुधबार साँझ भएका दुई विष्फोटपछि काबुलमाथि कालो धुवाँको मुस्लो उठेको देखिएको एएफपीका पत्रकारहरुले बताएका छन् । घटनालाई पुष्टिगर्दै तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एउटा तेल ट्यांकर र जेनेरेटरमा बिष्फोटहुँदा आगलागी भएको बताउनुभएको छ । तर पाकिस्तानी सुरक्षा श्रोतले एएफपीलाई बताएअनुसार इस्लामावादले अफगानिस्तानको राजधानीमा सटीक हमला गरेको छ ।

पाकिस्तानी आक्रमणपछि काबुलमा एम्बुलेन्सहरु दौडिरहेका र सडकमा क्षतिग्रस्त भवनहरुको सिसा अछरल्ल छरिएको अवस्थामा भेटिएको एएफपीका फोटो पत्रकारहरुले जनाएका छन् । तालिवान सेनाले शहरका केही सडकलाई पनि घेराहालेको छ । त्यसको एक घण्टापछि इस्लामावादले युद्धविरामको घोषणा गरेको थियो । काबुलमा तालिबान अधिकारीहरुले सेनालाई युद्धविरामको सम्मानगर्न आदेश दिएका छन् पाकिस्तानी सेनाले यसअघि अफगान तालिवानले दक्षिणपश्चिम र उत्तरपश्चिममा रहेका दुई प्रमुख सीमा चौकीमा आक्रमण गरेको आरोप लगाएको थियो । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक नजिकै हिजो बुधबार बिहान भएको आक्रमणमा २० तालिबान लडाकू मारिएका छन् । सेनाले जारी गरेको विज्ञप्तिमा दुर्भाग्यको कुरा, सर्वसाधारणलाई ध्यान नदिई उक्त क्षेत्रका रहेका गाउँहरुमा आक्रमण गरिएको थियो भनिएको छ । पाकिस्तानको उत्तरपश्चिम सीमामा रातभर भएको झडपमा थप ३० जनाको मृत्युभएको अनुमान गरिएको छ ।

अफगान तालिवानले स्पिन बोल्दाक नजिकै भएको झडपमा परी १५ सर्वसाधारणको मृत्युभएको र दर्जनौँ घाइते भएको जनाएको छ । तालिवानका प्रवक्ता मुजाहिदले स्पिन बोल्दाक वरपर १०० सर्वसाधारण घाइते भएको बताएका थिए तर पाकिस्तानी सेनाले यसलाई अपमानजनक र सरासर झुट भनेको छ। पाकिस्तानले पछिल्लो झडपमा आफ्नो क्षतिको संख्याभने बताएको छैन तर गतहप्ता पहिलो झडपमा आफ्ना २३ सैनिकको मृत्युभएको बताएको थियो । रासस,एएफपी