नयाँदिल्ली, ४ कातिक । लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामकासाथ आतशबाजीगरी मनाएपछि भारतको राजधानी नयाँदिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पु¥याएको अधिकारीहरुले बताएका छन् । गत सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरुले हावामा धुवाँ र सूक्ष्म कणहरुको मात्रा तीव्र रुपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनायो । हिजो मंगलबार बिहानसम्म नयाँदिल्लीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकांक (एक्युआई) ३५० नाघेको थियो । जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार गम्भीरस्तर हो र सास फेर्न नै खतरनाक मानिन्छ । सहरका धेरै भागमा दृश्यता घटेको, सडक र भवनहरु खैरो धुवाँले ढाकिएका र ऐतिहासिक स्मारकहरु समेत धमिलो रुपमा देखिन थालेका थिए । नयाँदिल्ली भ्रमणमा रहेका पर्यटक वेदान्त पचकन्डेले मैले यति बाक्लो प्रदूषण पहिले कहिल्यै देखेको थिइनँ । यहाँ त देख्नै नसकिने अवस्था छ भन्नुभयो ।
भारतको सर्वोच्च अदालतले गत हप्ता कम प्रदूषण उत्सर्जनगर्ने हरित पटाकाको सीमित प्रयोगलाई अनुमतिदिँदै दीपावलीका बेला पटाकामाथिको पूर्ण प्रतिबन्ध केही हदसम्म फुकुवा गरेको थियो । संघीय अनुसन्धान संस्थानहरुले विकास गरेका ती हरित पटाकाहरुले साधारण पटाकाको तुलनामा करिब ३० प्रतिशत कम कण र ग्यास उत्सर्जनगर्ने बताइएको छ । अदालतले गत शनिबारदेखि हिजो मंगलबारसम्म निश्चित समयमामात्र ती पटाका प्रयोगगर्न सकिने व्यवस्था गरेको थियो, तर विगतका वर्षहरुजस्तै यस वर्ष पनि नियम व्यापकरुपमा उलंघन भएको देखियो । नयाँदिल्ली र यसको वरिपरिका क्षेत्रमा तीन करोडभन्दा बढी जनसंख्या बसोबास गर्छ । दीपावलीको आतशबाजी, चिसो मौसम र नजिकैका राज्यहरुमा किसानहरुले खेतमा लगाएको बालीको अवशेष जलाउँदा निस्कने धुवाँ एकैसाथ मिसिँदा यी क्षेत्रहरु जाडो मौसममा विश्वकै सबैभन्दा प्रदूषित सहरहरुमा पर्नेगरेका छन् । राजधानीका अधिकारीहरुले प्रदूषण नियन्त्रणगर्न विभिन्न उपाय लागू गरेका छन्, जसमा निर्माण गतिविधिमा प्रतिबन्ध, डिजेल जेनेरेटरको प्रयोगमा नियन्त्रण तथा सवारी साधनमा कडा निगरानी समावेश छ । तर पर्यावरणविद्हरुले यो वार्षिक संकट अन्त्य गर्नका लागि वच्छ ऊर्जा प्रवद्र्धन, सार्वजनिक यातायात सुधार र सवारी उत्सर्जन नियन्त्रण जस्ता दीर्घकालीन समाधान अनिवार्य रहेको बताएका छन् ।
हालैको एक वैज्ञानिक अध्ययनले वायु प्रदूषणको वृद्धिले भारतमा सूर्यको प्रकाशको मात्रा घटाएको चेतावनी दिएको छ । नेचर पोर्टफोलियोको जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित अध्ययन अनुसार बढ्दो औद्योगिक उत्सर्जन, बायोमास जलाउने र सवारी साधनबाट निस्कने एरोसोल कणहरुले सूर्यको किरण पृथ्वीमा पुग्ने समय घटाइरहेका छन् । अध्ययनका सहलेखक तथा बनारस हिन्दू विश्वविद्यालयका वैज्ञानिक मनोज के. श्रीवास्तवले हामीले विशेषगरी उत्तरी भारतका बढी प्रदूषित क्षेत्रमा सूर्यको प्रकाशमा ठूलो कमी देखेका छौँ भन्नुभयो । उहाँका अनुसार, सूर्यको प्रकाशमा आएको यो कमीले भारतको सौर्य ऊर्जाको उत्पादन मात्र घटाउने नभई स्थानीय वातावरण, जनस्वास्थ्य र कृषि उत्पादकत्वमासमेत दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ । रासस,एपी