काठमाडौं, ७ कातिक । प्रदेशको पर्यटन विकास र प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन बर्ष–०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेश्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरुभएको पर्यटन बर्षको छ महिना पूरागरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चारजनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहनुभएको छ । उहाँ भन्नुहुन्छ–यसअघि पनि साथीहरुसँग घुम्न नेपाल आएको थिएँ, तर परिवारसँग पहिलोपटक नेपाल आएको छु । उहाँकाअनुसार अघिल्लो समयमा भन्दा यसबर्ष भ्रमण निकै सहज र रमाइलो भएको बताउनुहुन्छ । आफूजस्तै अरु पनि थुप्रै भारतीय नागरिक नेपाल घुम्न रुचाउने शर्मा बताउनुहुन्छ । उहाँले सस्तो मूल्यमै स्तरीय होटलमा बस्न पाइएको बताउनुभयो । शुरुवाती तीन महिना बैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन बर्षको कार्यक्रम देखिए तापनि पछिल्ला तीन महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए भन्नुभयो ।

कोशीको गौरव हिमालको शान, पर्यटन बर्षमा सबैलाई सम्मानभन्ने मूल नाराकासाथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमलाई सरकार सँगसँगै निजी क्षेत्रको पनि उत्तिकै सहभागितामा पर्यटन बर्ष सफल बनाउन लागिरहेको कोशी पर्यटन बर्ष–०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि आउने जानकारी दिनुभयो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन बर्ष–०८२ कार्यक्रम ल्याएको छ । पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा कमगर्न सकिने उल्लेखगर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऊर्जा, जलबिद्युत, पर्यटन, जडीबुटीका क्षेत्रमा कामगर्ने बताउनुभयो । प्रदेशमा पर्यटकस्तर होटल करिब पाँच सय होटल र वानस्टार स्तरदेखि फाइभस्टार स्तरसम्मका डेढ सय होटल रहेको पर्यटन व्यवसायी तथा कोशी पर्यटन बर्ष–०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउनुहुन्छ । उहाँकाअनुसार यी होटलहरुमा दैनिक तीनहजार पर्यटक बस्न सक्ने क्षमता रहेको बताउनुभयो । गतमहिना पूर्वी पहाडी जिल्लामा आएको बाढीपहिरोले पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष असर गरेको श्रेष्ठ बताउनुहुन्छ । छठपर्व पछाडि पर्यटन बर्ष–०८२ को थप प्रचारप्रसार गरिने उहाँले बताउनुभयो । कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ ।

यहाँ विभिन्न प्रसिद्ध धार्मिकस्थलसहित आठ हजार ८४८ मिटर अल्गो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भूभाग कचनकवल पनि छ । सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजाराँै स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ । कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलकारुपमा १० स्थान समावेश गरेको छ । सर्वोच्च शिखर सगरमाथा अवलोकनगर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेकबर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्यांक छ । धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन् ।

इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा, पाँचथरको साधुटारलगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन् । सगरमाथा, मकालु, कञ्चनजंघा, ल्होत्से र चोयुलगायत हिमश्रृंलाले विदेशी पर्यटकलाई आकर्षित गर्नेगरेको छ । सगरमाथा, मकालु र कञ्चनजंघा बेस क्याम्पसम्मको ट्रेक साहसी र रोचक मानिन्छ । त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यवरणीय पर्यटनको आधार मानिन्छ । रासस