कायरो, ८ कातिक । प्राविधिकहरुको एक स्वतन्त्र समितिले युद्धपछिको गाजा सञ्चालनको जिम्मा लिने कुरामा हमाससहित मुख्य प्यालेष्टिनी राजनीतिक समूहहरु सहमत भएका छन् । हमासको वेबसाइटमा प्रकाशित संयुक्त वक्तव्यकाअनुसार कायरोमा भएको एक बैठककाक्रममा समूहहरुले गाजा पट्टीको प्रशासन स्वतन्त्र प्राविधिकहरु मिलेर बनेको अस्थायी प्यालेष्टाइनी समितिलाई हस्तान्तरणगर्न सहमत भएका छन्। समितिले अरब र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा जीवन र आधारभूत सेवाको व्यवस्थापनगर्ने बताइएको छ । वक्तव्यमा भनिएको छ–समूहहरु प्यालेष्टाइनको सङ्कटको सामना गर्न साझा अडानलाई एकताबद्धगर्न कामगर्न सहमत भएका छन् । प्राविधिक समितिले राष्ट्रिय रणनीतिमा सहमत हुन र प्यालेष्टाइन मुक्ति संगठन (पीएलओ) लाई प्यालेष्टाइनी जनताको एकमात्र वैध प्रतिनिधिको रुपमा पुनर्जीवित गर्न सबै शक्ति र समूहहरुको बैठक आह्वान गरेको थियो । हमास पिएलओको हिस्सा होइन । पिएलओमा लामो समयदेखि यसको प्रतिद्वन्द्वी फताहको प्रभुत्व छ ।

एक जानकार श्रोतले एएफपीलाई बताए अनुसार हमास र फताहका प्रतिनिधिहरुले गाजामा अमेरिका समर्थित युद्धविराम योजनाको दोश्रो चरणकाबारेमा छलफलगर्न कायरोमा भेट गरेका हुन्। नाम नबताउने शर्तमा श्रोतले भन्यो–दुवै पक्ष आगामी अवधिमा बैठकहरु जारी राख्न र इजरायली सरकारले खडा गरेका चुनौतीहरुको सामनागर्दै प्यालेष्टाइनको आन्तरिक मोर्चा व्यवस्थितगर्न सहमत भएका छन्। हमास–फताह वार्तासँगै इजिप्टका गुप्तचर प्रमुख हसन रसादले प्यालेष्टिनी प्रमुख समूहका वरिष्ठ अधिकारीहरुसँग भेट गर्नुभएको छ । इजिप्टका गुप्तचर प्रमुख हसन रसादसहितको बैठकमा हमासको सहयोगी इस्लामिक जिहाद, प्यालेष्टाइन लिबरेसन डेमोक्रेटिक फ्रन्ट र प्यालेष्टाइन लिबरेसन पपुलर फ्रन्ट सहभागी भएका थिए ।

सन् २००६ को चुनावपछि केही समयको लागि लडाइँ गरेका हमास र फताहबीच गहिरो राजनीतिक प्रतिद्वन्द्विताको इतिहास छ। यसले प्यालेष्टिनी राष्ट्रिय एकताको प्रयासमा बाधा पु¥याएको थियो। सन् २०२४ डिसेम्बरमा उनीहरुले युद्धपछिको गाजाको संयुक्त प्रशासनगर्न एक समिति गठनगर्न सहमत भएका थिए । यस सम्झौताको विशेष गरी फताहका सदस्यहरुले आलोचना गरेका थिए । सन् २००७ मा यस क्षेत्रमा सत्ता कब्जा गरेको हमासले युद्धपछिको क्षेत्रमा शासनगर्न नचाहेको स्पष्ट पारिसकेको छ, तर उसले आफ्ना लडाकुहरुलाई निशस्त्रगर्ने आग्रहको बिरोधगर्दै यो असम्भव हुने बताएको छ । रासस,एएफपी