काठमाडौं, ९ कातिक । स्थानीय तहले आलटाल गर्दा काभ्रेका १३ महिनाअघिका बाढीपहिरोपीडितलाई प्रदान गरिने अनुदानका लागि रकम वितरणगर्न ढिलाइ भएको छ । सोहीकारण पीडितका लागि अस्थायी आवास निर्माणगर्न सरकारले प्रदान गरेको अनुदान वितरणमा अन्योलता भइरहेको हो । बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुगेको एक वर्ष नाघिसक्दा पनि स्थानीय तहको बेवास्ताले हालसम्म नागरिकले अस्थायी आवास निर्माणका लागि सरकारले प्रदान गरेको रकम लिन सकेका छैनन् । हाल बाढीपहिरोबाट पीडित परिवारका लागि दोश्रो किस्ताको रकम जिल्ला प्रशासन कार्यालयको खातामा थन्किएर बसेको छ । हालसम्म जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिकाका पीडितले मात्रै दोश्रो किस्ताको रकम पाएकाजिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लास्थित विपद् कोषमा गत वर्षको बाढीपहिरोबाट क्षति भएका पीडित परिवारका लागि अस्थायी आवास निर्माण गर्न दोश्रो किस्ताबापतको रकम प्राप्त भए पनि स्थानीय तहबाट माग नभएकाले उक्त रकम खर्च हुननसकेको कार्यालयले जनाएको छ । कार्यालयले यसअघि जिल्लाको १३ स्थानीय तहका तीनहजार १२८ पीडितपरिवारका लागि पहिलो किस्ताबापत प्रतिपरिवार २५ हजार उपलब्ध गराइसकेको छ । कार्यालयलाई सरकारले पहिलो किस्ताबापत सातकरोड ७९ लाख २५ हजार निकासा गरेको थियो ।

कार्यालयका लेखापाल नरहरिनाथ खनालका अनुसार १३ मध्ये हालसम्म माग भएअनुसार दुई तहका ६५७ परिवारलाई दोश्रो किस्ता पठाइएको बताउनुभयो । रोशी गाउँपालिकामा ४६१ परिवारका लागि रु २५ हजारका दरले रु एक करोड १५ लाख २५ हजार र बेथानचोकका १९६ परिवारका लागि रु ४९ लाखगरी कुल एक करोड ६४ लाख २५ हजार दोश्रो किस्ताको रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार पाँचखाल नगरपालिकाबाट दोश्रो किस्ताबापतको रकम माग भएकाले अनुदान रकम पठाउने प्रक्रिया भइरहेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले स्थानीय तहबाट आवश्यक कागजात पु¥याएर माग भएको खण्डमा तत्कालै अनुदान पठाउने प्रक्रिया हुल्छ भन्नुभयो । उहाँका अनुसार हाल प्रशासनको विपद् व्यवस्थापन कोषमा तीन करोड ३० लाख छ । केही स्थानीय तहबाट दोश्रो किस्ताका लागि समयमै कागजात नआउँदा रकम मागगर्न ढिला भएको जनाएका छन् । पनौती नगरप्रमुख रामशरण भण्डारीले पीडितबाट आउनुपर्ने डकुमेन्ट समयमै नआउँदा ढिलाइ भएको बताउनुभयो ।

सरकारले पहिलो किस्तामा २५ हजार र दोश्रो किस्तामा २५ हजारगरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ रु ५० हजार उपलब्ध गराउनेगरी कार्यविधि तयार गरेको थियो । पहिलो किस्ताबापतको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा ८८, मण्डनदेउपुरमा १३३ र नमोबुद्धमा ८८४ परिवार रहेका छन् । त्यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालका १४१, बेथानचोकमा २३९ र खानीखोलामा ५३ पीडितपरिवार रहेका छन् । उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत गरिएको छभने एक सयको हाराहारीमा घाइते भएका थिए । रासस