काठमाडौँ, १० कात्तिकः नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनकाक्रममा भएको उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिनगरी कारवाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ । महासंघले ती घटनामा संलग्नहरुको जाहेरीनै नलिएको सदस्यहरुबाट गुनासो आइरहेकाले यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेखगर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । महासंघले यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पु¥याएको विज्ञप्तिमार्फत जनाएको छ । जारी विज्ञप्तिमा यसले रोजगारी सिर्जना, राजस्व सङ्कलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन असर पार्ने उल्लेख छ । महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरुमा महासंघको प्रतिनिधित्व सुनिश्चितगर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ ।

यसबारे औपचारिक आग्रहगर्दैै महासंघले गृहमन्त्रालयमा पत्राचारसमेत गरिसकेको छ । सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चितगर्न महासंघले समितिमा आफ्नो र सदस्य संघहरुको सहभागिताका लागि आग्रह गरेको हो । महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति÷फोरमका सभापतिहरु सम्मिलित छलफलमा महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति सुरक्षा नभई स्थायित्व नहुने, स्थायित्व नभई उद्यम व्यवसाय सञ्चालन हुननसक्ने र उद्यम व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुनेहुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य शर्त भएको बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रुपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जनागर्न निजी क्षेत्रले सरकारको सक्रियता अपेक्षा गरेको बताउनुभएको थियो । छलफलमा महासंघमा उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित स्थायी समिति तथा समिति÷फोरमका सभापतिहरु सहभागी रहनुभएको थियो ।