काठमाडौं, १३ कातिक । जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गत भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानूनअनुसार कारवाही गर्नुपर्ने बताउनुभएको छ । आयोगद्वारा हिजो पर्साको बीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा अध्यक्ष कार्कीले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले हातहतियार लुटपाटगर्ने र कारागारबाट भागेका कैदीबन्दीलाई कारवाही गर्नभने सरकारले अध्यादेशमार्फत कानून बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सरकारी हातहतियार लुटेका लुटेरालाई बिद्यमान कानूनले कारवाहीगर्न केही अप्ठेरो रहेछ । त्यसैले आयोगले उनीहरुलाई आवश्यक कानूनी कारवाहीगर्न अध्यादेशमार्फत कानून ल्याउन आफूहरुले अनुरोध गरेका पनि बताउनु भएको थियो ।
अध्यक्ष कार्कीले आयोगले कार्यादेशअनुसार निर्धारित समयमै कार्यसम्पादनगर्ने दाबि पनि गर्नुभयो । आयोगको टोलीले अहिले जिल्ला,जिल्लामा पुगेर क्षति भएका संरचनाको स्थलगत अनुगमन तथा छलफल गरिरहेको उहाँको भनाई थियो । उहाँले गत भदौ २३ गतेको घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिकाका विषयमा पनि आवश्यक कागजात माग्ने र अनुसन्धान भइरहेको खुलाशा पनि गर्नुभएको थियो । पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आयोगले सत्यतथ्य छानबिनगरेर राष्ट्रसामु बाहिर ल्याउने जिम्मेवारी पूरागर्न अनुरोध गर्नुभएको थियो । एमालेका पर्सा जिल्ला अध्यक्ष डा विश्म्भरप्रसाद शर्माले व्यक्तिगत र सार्वजनिक सम्पत्ति लुटपाट र आगजनीगर्ने जुनसुकै पार्टीमा आवद्ध भए पनि कारवाहीगर्न अनुरोध गर्नुभएको थियो ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीले जेनजी समूहलेभन्दा पनि व्यक्तिगत रिसइवीका कारण जिल्लामा राजनीतिक दलको पार्टी कार्यालय र राजनीतिक दलका नेताहरुको घरमा आगजनी र लुटपाट भएको बताउनुभउको थियो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पर्सामा भएको क्षतिको विवरणबारे जानकारी गराउनुभएको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले भदौ २४ गतेको घटनामा संलग्न दोषीलाई कारवाहीगर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने धारणा राख्नुभएको थियो ।