
ढाका, २० कातिक । बंगलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३ औँ आम निर्वाचनपछि आफ्नो ब्यारेकमा फर्किने जनाएको छ । सेना मुख्यालयको आर्मी ट्रेनिङ एन्ड डक्ट्रिन कमान्डका जनरल अफिसर लेफ्टिनेन्ट जनरल मोहम्मद मैनुर रहमानले हिजो बुधबार ढाकामा पत्रकार सम्मेलनमा चुनाव सकिएपछि सेना आफ्नो ब्यारेकमा फर्कने बताउनु भएको थियो । उहाँले चुनावले देशलाई थप स्थिर बनाउने र समग्र सार्वजनिक सुरक्षामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो। सेनाले विगत १५ महिनादेखि आफ्नो शिविर बाहिर ड्युटी गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्नगर्न सरकारलाई सहयोगगर्न सेनाको टोली तयार रहेको पनि बताउनुभयो । बंगलादेशको निर्वाचन आयोगले यसअघि नै देशको आम चुनावको सुरक्षाका लागि एकलाख सेना परिचालनगर्ने घोषणा गरेको थियो । गतबर्ष पूर्व प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि पहिलो पटक फेब्रुअरी २०२६ मा आम निर्वाचन आयोजनागर्ने घोषणा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले गर्नुभएको थियो । रासस, एएफपी