काठमाडौं, २० कातिक । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबाट नेपालको अर्थतन्त्र चौपट भएको छभने लगानीकर्र्ताको मनोबल समेत गिरेको खुलाशा हुनथालेको छ । यसैक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताउनुभएको छ । नागरिक पहलद्वारा हिजो आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभमा उहाँले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताउनुभएको हो । उहाँले विगत एक दुई वर्षदेखि नै पैसा भएपनि लगानी विस्तार नभएको अवस्था थियो, हामीले ठूलो लगानी ल्याउन सकेका थिएनौँ, यस्तो अवस्थामा जेनजी आन्दोलन भएपछि यसले थप समस्यामा पारेको छ भन्नुभएको थियो । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठ भएकाले निजी र सरकारी संरचनामा आक्रमण भएको धारणा राख्नुभएको थियो ।

उहाँले जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघिबढे पनि घुसपैठ भएकाले आन्दोलन हिंसात्मक भएको दाबी पनि गर्नुभएको थियो । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दलहरुले व्यक्तिमुखीभन्दा पनि प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलन कांग्रेसप्रति पनि लक्षित भएको खुलाशा गनुृभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीले वर्तमान राजनीतिक अवस्था जटिल र अविश्वासपूर्ण बनेको टिप्पणी गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले जेनजी आन्दोलन लामो समयदेखिको असन्तुष्टिका कारण भएको बताउनुभएको थियो ।

जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जेनजी आन्दोलनका भाग नलिएकाहरुले आन्दोलनको जस लिन अग्रसर भएको जिकिर गर्नुभएको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोहपछिको राजनीतिक अवस्थालाई सरकारका लागि अवसर र चुनौती दुवै भएको बताउनुभएको थियो । कार्यक्रम संयोजक सन्तोष गिरीले जेनजी बिद्रोह असन्तुष्टिको नतिजा भएको बताउनुभएको थियो ।