
काठमाडौं,२१ कातिक । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्धाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको सुनुवाइका लागि हिजो पेशी तोकिएको थियो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको एक नम्बर इजलासमा जिल्ला अदालत रुपन्देहीले जारीगरेको आदेश र अन्य फाइल मगाउने आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयो । यसअघि यही कात्तिक १३ गते तोकिएको पेशी जोशीका कानून व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्धामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्धा भएकाले जोशीसमेतको दुवै मुद्धा एकैसाथ राख्न आदेश दिएको थियो । बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्धा लड्न सभापति लामिछानेले माग गरेकामा उच्च अदालतले उहाँसँगै जोशीको फाइल पेश गर्न आदेश दिएको थियो ।
यसअघि सभापति लामिछानेको मुद्धामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन मागगर्ने आदेश दिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिलगर्दा जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो बराबरको दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेश गर्नुभएको थियो । गत साउन २६ गते जिल्ला अदालतका न्यायधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमा सुनुवाइगर्दै रिहागर्न अस्वीकार गरेको थियो । लामिछानेले जस्तै जोशीले त्यति नै बिगोवापतको जमानत पेश गर्नुभएको थियो । तर दुवै प्रतिवादीको हकमा उनीहरुको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहागर्न नमिल्ने एकै प्रकृतिको आदेश जिल्ला अदालतले गरेको थियो । पुर्पक्षका लागि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारम राखिएको छ । रासस