काठमाडौं, २२ कातिक । नेपाल उद्योग वाणिज्य महासंघले आज शनिबार काठमाडौँमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलश्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ ।
यस्तै कार्यक्रममा मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, बिभिन्न मन्त्रालयका सचिवहरु, नेपालस्थित बिभिन्न देशका राजदूतहरु, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधि तथा निजी क्षेत्रका संस्थाका प्रमुख तथा पदाधिकारीको सहभागिता रहनेछ । जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ आयोजना गरिएको महासंघले जनाएको छ । उद्योग वाणिज्य महासंघले यसअघि पनि ०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहस पहिलो श्रृंखला आयोजना गरेको थियो । रासस