काठमाडौं,२३ कातिक । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण संकलन गरेको हो । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्यांक संकलन गरेका हुन् । मन्त्रालयले संकलन गरेको तथ्यांककका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग मन्त्रालयले समन्वयगर्ने सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मन्त्रालयले क्षतिको थप विश्लेषणगर्न कार्यदल गठन गरेको छ । खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पु¥याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ । मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले विपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट प्रभावित किसानलाई सहयोग प्रदान गरिने जोशीले जानकारी दिनुभयो । उहाँकाअनुसार क्षतिको तथ्यांकका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धानगरी विस्तृत रुपमा योजना निर्माणगरी कार्यान्वयन गरिने छ । रासस