रोम, २७ कातिक । संयुक्त राष्टसंघका दुई प्रमुख खाद्य संस्थाहरुले विश्वका विभिन्न १६ देशमा भोकमरीको गम्भीर संकट फैलिने चेतावनी दिएका छन् । ती संस्थाहरुकाअनुसार आवश्यक सहयोगका लागि रकम अभावहुँदा अहिलेको जटिल स्थिति अझ बिग्रँदै गएको छ । संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) द्वारा बुधबार जारी गरिएको संयुक्त प्रतिवेदनमा संघर्र्ष र हिंसाका कारण अधिकांश देशहरुमा तीव्र खाद्य असुरक्षा उत्पन्न भएको भनिएको छ । रोमस्थित दुवै संस्थाहरुले हाइती, माली, फिलिस्तिन, दक्षिण सुडान, सुडान र यमन लाई सबैभन्दा गम्भीर अवस्थामा रहेका देशका रुपमा उल्लेख गरेका छन्, जहाँका जनसङ्ख्या ‘अत्यन्त भीषण भोकमरीको तत्काल जोखिममा’ रहेका छन् ।

त्यस्तै, अफगानिस्तान, कङ्गो गणराज्य, म्यानमा, नाइजेरिया, सोमालिया र सिरियालाई अत्यधिक चिन्ताजनक स्थिति’ का रुपमा वर्गीकृत गरिएको छ । साथै बुर्किना फासो, चाड, केन्या र बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीहरुको अवस्था पनि सूचीमा समावेश गरिएको छ । विश्व खाद्य कार्यक्रमकी कार्यकारी निर्देशक सिन्डी म्याकेनका अनुसार हामी अहिले पूर्णरुपमा रोक्न सकिने भोकमरी संकटको सिमानामा छौं । यदि तत्काल कदम चालिएन भने यसले अस्थिरता, जबर्जस्ती आप्रवासन र हिंसा अझ बढाउनेछ । प्रतिवेदनकाअनुसार मानवतावादी सहयोगका लागि आवश्यक २९ अर्ब अमेरिकी डलरमध्ये केवल १०.५ अर्ब डलर मात्र प्राप्त भएको छ, जसका कारण राहत कार्यहरु प्रभावित भएका छन् ।

धनको अभावका कारण डब्ल्युएफपीले शरणार्थी र विस्थापितहरुलाई दिने सहयोग घटाउनुकासाथै केही देशमा विद्यालय भोकमरी न्यूनीकरण कार्यक्रम (स्कूल फिडिङ प्रोग्राम) स्थगित गर्नुपरेको जनाएको छ । त्यस्तै, एफएओले कृषकको जीविकोपार्जन जोगाउने प्रयासहरु जोखिममा परेको चेतावनी दिएको छ । रिपोर्टका अनुसार, बीउबिजन र पशु स्वास्थ्य सेवाका लागि तत्काल लगानी आवश्यक छ, अन्यथा आगामी खेतीपाती सिजन शुरु हुनुअघिनै नयाँ संकट निम्तिन सक्नेछ । रासस,एएफपी