नयाँ दिल्ली, २८ कातिक । बिहार राज्य चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै गठबन्धन अगाडि देखिएको छ । मोदीको नेतृत्वमा रहेको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्वपूर्ण चुनावमा प्रारम्भिक नतिजामा उल्लेखनीय अग्रता लिभएको छ । यो चुनावलाई प्रधानमन्त्रीको लोकप्रियता तथा देशका गरिब तर राजनीतिकरुपमा अत्यन्त प्रभावशाली राज्यहरुमध्ये एकमा उहाँको गठबन्धनको प्रभावको सूचककारुपमा हेरिएको थियो । भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको आंशिक नतिजा अनुसार पूर्वी राज्य बिहारको २४३ सदस्यीय व्यवस्थापिकामा एनडिएले करिब २०० सिट हाशिलगर्ने अनुमान गरिएको छ । यसले राज्यमा सरकार गठनका लागि आवश्यक १२२ को साधारण बहुमत सहजै पारगर्ने संकेत दिएको छ । यसमध्ये प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले मात्रै ९० सिट जित्ने प्रक्षेपण गरिएको छ । करिब १३ करोड जनसंख्या भएको बिहार देशको तेस्रो सबैभन्दा धेरै जनसंख्या रहेको राज्य हो ।

यस राज्यले भारतको संसद्को तल्लो सदन (लोकसभा) मा चौथो सबैभन्दा बढी सांसदहरु पठाउँछ । यो राज्यलाई भारतको हिन्दी भाषी हृदयभूमिमा राजनीतिक प्रवृत्ति निर्धारणगर्ने प्रमुख सूचककारुपमा प्रतिष्ठित गरिएकाले यस्तो अवस्थामा बिहारमा विजय प्राप्तगर्नु सत्तारुढ पक्षका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यसबर्ष सम्पन्न दुईचरणको निर्वाचन बेरोजगारी, कानून–व्यवस्था तथा मतदाता सूची संशोधनमा देखिएका अनियमितता सम्बन्धी सार्वजनिक चिन्ताका बीचमा सम्पन्न भएको थियो । यसअघिनै प्रधानमन्त्री र विपक्षी नेताहरु दुवै पक्षबाट विशाल जनसभा, आक्रामक कल्याणकारी प्रतिबद्धता तथा मतदातासँग प्रत्यक्ष सम्पर्कजस्ता तीव्र चुनावी गतिविधिले राज्यभर तीव्र प्रतिस्पर्धा देखिएको थियो । प्रारम्भिक मतगणनामा एनडिएले उल्लेखनीय अग्रतालिँदा राज्य राजधानी पटनामा समर्थकहरुले पार्टीका झण्डा फहराउँदै, ड्रम बजाउँदै, नाचगान तथा पटाखा फोडेर उत्सव मनाएका छन् । रासस, एपी