काठमाडौं, २९ कातिक । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुईवटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले दुई अर्ब ५० करोड बराबरको ‘नागरिक बचतपत्र–०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–०८७’ निष्काशनगर्न लागेको हो । पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी मंसिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मंसिर २८ गते निष्काशन हुनेछ । नागरिक बचतपत्रमा छ दशमलव पाँच प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा सात दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ । बचतपत्रको ब्याज हरेक छ÷छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ भने घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भागगर्दा निःशेष भाग जाने अंकमा खरिदगर्न पाइनेछ । नागरिक बचतपत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिदगर्न सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममासमेत गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालनगर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । अघिल्ला वर्षमा नागरिक बचतपत्र शतप्रतिशत बिक्रीहुँदा वैदेशिक रोजगार बचतपत्रमा भने लगानीकर्ताको न्यून चासो देखिने गरेको छ ।
लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा विगतका वर्षमा निष्काशन गरिएको रकमभन्दा कममात्रै खरिद हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताउनुभयो । उहाँले बचतपत्र के हो ? किन लगानी गर्ने ? कसरी लगानी गर्ने ? जस्ता विषयमा धेरैलाई जानकारी छैन । पछिल्ला वर्षमा खरिद गर्नेहरुको संख्या बढ्दै गए पनि अझै धेरैले जानकारी पाएका छैनन् भन्नुभयो । नागरिक बचतपत्रका लागि पछिल्लो चार दिनमा मात्र ८० करोड बराबरको आवेदन परिसकेको पुडासैनीले जानकारी दिनुभयो । यसवर्ष तोकिएको समय अघिनै खरिद भइसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । उहाँकाअनुसार पहिलो आवेदन दिनेले पहिले खरिदगर्न पाउने यी बचतपत्र ‘स्टक’का रुपमा जारी हुनेछन् । यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक रहेका जनाउँदै पुडासैनीले यसको महत्व र फाइदाबारे अधिकांश नागरिकलाई जानकारी नभएको बताउनुभयो । उहाँले लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण बचतपत्र हो भन्नुभयो । उपसचिव पुडासैनीका अनुसार बचतपत्र पूर्णरुपमा सुरक्षित लगानी हो ।
यसमा सरकारले मूलधनको सुशिन्चित गरेको हुन्छ । साथै बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने पुडासैनीले उल्लेख गर्नुभयो । उहाँले दोश्रो बजारमा सहजै कारोबार हुने तथा बचतपत्र धारकले जुनसुकै बेला वा बेच्न चाहेको बेला बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ । सोहीकारण बचतपत्रलाई तत्काल तरलतामा रुपान्तरणगर्न सकिन्छ । अर्थात् आफूले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ भन्नुभयो ।